Logo

एक साता विद्यालय बन्द गर्ने निर्णय



काठमाडौँ । नेपालगञ्जमा फेरि कोरोना संक्रमित बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिएकी छन्।

नगर प्रमुख डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ।

पछिल्लो एक सातामा ३ सय ६६ जना संक्रमित थपिएपछि नेपालगञ्जमा विद्यालय बन्द गर्नुपर्ने आवाज उठेको थियो ।

यसैबीच बैठकले भारतबाट आउनेहरुको सीमामा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय गरेको छ ।

मास्क अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि कडाई गर्ने निर्णय भएको छ। मास्क नलगाई कारोबार गर्ने व्यवसायीको पसललाई कम्तीमा एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ।

यस्तै बाँके प्रहरीले अनावश्यक घरबाट बाहिर ननिस्किन, दुई मिटरको दूरी कायम गर्न र अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्