Logo

जसपाका लागि देउवाभन्दा ओली किन प्रिय ?




काठमाडौं । प्रदेश बनाउँदा तराईमा पहाड मिसाउन नदिने रणनीतिमा थिए – केही मधेस केन्द्रीत राजनीतिक दलहरु । त्यही बेला नेकपा एमालेका अध्यक्षको हैसियतमा केपी शर्मा ओलीले भनेका थिए – समथर समथर एउटा प्रदेशमा राख्ने भन्ने सिद्धान्तका आधारमा प्रदेश बन्दैन । यस्तो बन्ने हो भने बिहार र युपी पनि समथर नै छ । के त्यसलाई पनि गाभ्ने ?’

ओलीको यो भनाइपछि मधेस केन्द्रीत राजनीतिक दलहरु निकै रिसाए । तराईमा आन्दोलन चलिरहँदा केपी शर्मा ओली मेची महाकाली यात्रामा निस्किए । सप्तरीमा चार जनाको ज्यान जाने गरी हिंसा नै भयो ।

त्यस्तै बेलादेखि नेता राजेन्द्र महताको ओलीप्रति एकोहोरो अविचलित र स्थायी मान्यता छ – नश्लवादी ।

मानिसहरुको नश्लको वैज्ञानिक परिभाषामा महतो र ओलीको नश्ल एकै हो । तर उनले भन्न खोजेको चाहिँ ओली ‘पहाडीय खस’पक्षमा मात्रै काम गर्ने व्यक्ति हुन् भन्ने हुन सक्छ ।
बंगलादेश टुक्रा पार्ने एउटा वाद थियो – ‘बहुराष्ट्रवाद’ । त्यही बहुराष्ट्रवादी नीति अंगालेका महन्थ ठाकुर र जन्मदेश कुन हो भन्ने शंका गरिएका राजेन्द्र महताले सबैभन्दा बढी घृणा गर्ने पात्र केपी ओली नै थिए ।

अहिले पनि संविधान संशोधनको माग नछाडेका यी दुई नेताका लागि सबैभन्दा ठूला बाधक ओली नै हुन् । उनले बारम्बार भन्दै आएका छन् – संविधान संशोधन हुन्छ । तर त्यो आवश्यकता र औचित्यका आधारमा मात्रै ।

राजेन्द्र महतो र महन्थ ठाकुर ओलीप्रति कहिले पनि सकारात्मक भएनन् । सत्ता भनेपछि सात दिनका लागि भए पनि खुट्टा उचालिहाल्ने प्रवृत्ति अन्य दलका नेताहरुमा झै मधेस केन्द्रीत राजनीतिक दलहरुमा पनि छ । ओली सत्ता ढालेर नयाँ सरकार बनाउने र सत्तामा जाने अवसर अहिले जसपालाई पर्याप्त छ ।

जसलाई (ओलीलाई)सबैभन्दा बढी घृणा गरे र सत्तासँग अटुट सम्बन्ध राख्न चाहने स्वभाव हुँदा हुँदै पनि यसपटक ओली सरकार ढाल्न, नयाँ सरकार गठन गर्न महन्थ–महतो तयार छैनन् ।
ओलीले यी दुई नेताको कुनै माग पूरा गरिदिएका छैनन् । विगतमा भएको मैलो पखाल्ने कुनै घटना भएको पनि छैनन् । महन्थ–महतो तराईलाई मधेस भन्नमा गर्व गर्छन् । ओली मधेस भन्ने शब्द पनि प्रयोग गर्दैनन् ।

नेपाली चेली भारत बिहेवारी गरेर जाँदा नागरिकताका लागि सात वर्ष पर्खिनुपर्छ । विदेशी चेली नेपाल आउँदा तुरुन्तै नागरिकता दिनुपर्छ भन्ने निकृष्ट विचार राख्नेहरुको जमातमा महतो र महन्थ पनि छन् । नागरिकताको यो सन्दर्भमा पनि ओलीसँग वैचारिक समानता छैन ।

खासमा भन्ने हो भने ओली र मधेस केन्द्रीत राजनीतिक दलबीच ‘३६’को सम्बन्ध छ ।
तर कांग्रेस सभापति देउवासँगको सम्बन्धको कुरा गर्ने हो भने त्यस्तो बिल्कुल छैन । देउवालाई खुलेर आलोचना गर्ने ‘कन्टेन्ट’ समेत महन्थ–महतोसँग छैन । तर देउवालाई भन्दा ओली नै जसपाका लागि (बाबुराम–उपेन्द्रबाहेक) अहिले प्रिय बनिरहेका छन् ।

देउवालाई प्रधानमन्त्री बनाउन जसपा आनाकानी गरिरहेको छ । यो आनाकानीको ठोस कारण छैन । ओली सरकार जोगाउने जिम्मेवारी जसपालाई कसले दियो ? स्पष्ट छैन, शंका चाहिँ स्पष्ट छ ।
तमाम परिस्थितिहरुको मूल्यांकन गर्दा जसपालाई देउवा भन्दा ओली प्रिय लाग्नु, ओली सरकार जोगाउन भूमिका खेलिरहनु, मध्यावधी निर्वाचनतर्फ मुलुकलाई लैजान सहयोगी बन्नु जस्ता अनेक कारणहरु अनुत्तरित छन् ।
टिप्पणी

प्रतिक्रिया दिनुहोस्