Logo

शेयर बजारमा नयाँ रेकर्ड, सात अर्ब माथिको कारोबार



काठमाडौँ । शेयर बजारमा रेकर्डको श्रृखंला सुरु भएको छ । २६४० को उच्च विन्दु ब्रेक गरेको नेप्से मंगलबार २६७४ अंकमा पुगेको छ ।

बजार सुधारको गतिमा बढ्दा दर्जन बढी कम्पनीहरुको शेयर मूल्य सर्किट लेभलमा बढेको छ । यसदिनको कारोबारमा चार कम्पनीको शेयर मूल्य दश प्रतिशतले बढेको छ भने करिब एक दर्जन कम्पनीको मूल्य ९ प्रतिशत बढीले उकालो लागेको छ । नेप्से सूचक १५.७२ अंकले बढेर २६७४.४६ विन्दुमा पुगेको छ । यो हालसम्मकै सर्वाधिक उच्च अंकको हो ।

बजार बढ्दा कारोबार रकममा समेत सुधार आएको छ । मंगलबार २१३ कम्पनीको शेयर ७ अर्ब ४७ करोड बराबरमा किनबेच भएको छ । सोमबार ७ अर्ब २९ करोड ६७ लाखको शेयर खरीद बिक्री भएको थियो ।

आज कारोबारमा आएका समुहगत परिसूचक मिश्रित देखिएका छन् । होटल तथा टुरिजम्, विकास बैंक, जलविद्युत, उत्पादन, लघुवित्त, म्युचुअल फण्ड र लगानी समूहका सूचक सकारात्मक रहदा अन्य समूहका सूचक ओरालो लागे ।

यसदिन निफ्राको सबैभन्दा धेरै ३९ करोड बढीको शेयर किनबेच भएको छ । त्यस्तै चिलिमे हाइड्रोको शेयर पनि ३१ करोड बराबरको किनबेच भयो ।

आजको बजारमा चार कम्पनीका लगानीकर्ताले उच्च नाफा आर्जन गरेका छन् । युनाइटेड मादी, युनिभर्सल पावर, चिलिमे हाइड्रो र चन्द्रागिरीको शेयर दश प्रतिशतले बढेको छ । सबैभन्दा धेरै साल्ट ट्रडिङका लगानीकर्ताले गुमाए । जसको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्