Logo

राजनीतिको सुनौलो अवसर सभापति देउवाले गुमाए !



काठमाडौं । अघिल्लो पटक मात्र नौ महिना प्रधानमन्त्री हुने अवसरका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्झौता गरेका थिए । त्यो सम्झौताले नौ महिना देउवालाई, नौ महिना प्रचण्डलाई प्रधानमन्त्री बनायो ।


अहिले संसद पुनस्र्थापना भइसकेपछि सभापति देउवाका अगाडि सिंगै २ वर्ष प्रधानमन्त्री हुने अवसर थियो । त्यसका लागि उनले आफैं सक्रिय भएर न जसपासँग, न माओवादी केन्द्रसँग छलफल गरे । उल्टो उनले भनिरहे –हामी प्रतिपक्ष । हामी प्रतिपक्ष । हामी प्रतिपक्ष ।

संसद विघटन हुँदा पनि सभापति देउवा आन्दोलनमा खासै गएनन् । अदालतमा विचाराधीन मुद्दामा मौन बस्नुपर्छ भन्दै केही शान्त भइदिए । टाउको (काठमाडौं)मा आन्दोलन नगरेर हाँगा र पात (वडातिर) आन्दोलन गर्ने योजना ल्याए ।

प्रधानमन्त्रीको कुर्सी र सभापति देउवाको स्वभावमा यो हदसम्मको फरक कहिले पनि देखिएको थिएन । साँच्चै भन्ने हो भने नेपालको राजनीतिमा यस्तो सायदै कहिल्यै देखिएको थियो कि कुर्सीले ‘आइज आइज’ भन्ने उम्मेदवारले ‘हामी प्रतिपक्ष, प्रतिपक्ष’ भन्ने ।

सभापति देउवाले प्रधानमन्त्री हुने, दुई वर्षमा जनतामा शानदार छाप छाडेर आफ्नै नेतृत्वमा चुनाव गराएर कांग्रेसको पुरानो शाख फिर्ता ल्याउने अवसर थियो, त्यो एक पटक गुमाए ।

नेपालको राजनीतिक कताबाट चल्छ कसैलाई थाहा हुँदैन त भन्ने गरिन्छ नै । यसपटकको परिदृश्य पनि त्यस्तै भयो । जुन बेला किस्तीमै प्रधानमन्त्री अफर गर्न अरु दलहरु आइरहँदा सभापति शान्त रहे । अहिले फेरि त्यस्तै अवसर आएको संकेतहरु देख्न सकिन्छ ।

धानमन्त्री केपी शर्मा ओलीले भनेका छन् ‘माओवादीले विश्वासको मत फिर्ता लिए राजीनामा दिन्छु ।’ अल्पमतमा परेपछि पदमा रहिरन मिल्दैन । नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्छ । वा विश्वासको मत लिन सक्नुपर्छ । तर प्रधानमन्त्री ओलीले यसो भन्नु पछाडि उनले ‘नैतिकता देखाउँछु’ भन्न खोजेका होइनन् ।

प्रधानमन्त्री ओली त चाहन्छन् कि माओवादीले समर्थन फिर्ता लिओस्, अर्को समिकरणको सरकार पनि नबनोस् । ताकि मुलुक फेरि अस्थीर बनोस् ।

अर्को समिकरणको सरकार बनेन भने मुलुक निर्वाचनमा जाने निश्चित नै हुन्छ । माओवादीले समर्थन फिर्ता लिएमा जसपाले ओली सरकारलाई समर्थन गर्छ भन्ने छैन । नाकाबन्दीको समर्थन गरेर हिँड्ने पार्टी कसरी प्रस्तुत हुन्छ ? भन्ने ग्यारेन्टी छैन । देश खाडलमा जाँदै छ भन्ने थाहा हुँदा हुँदै पनि जसपाले त्यसैलाई मलजल गर्न सक्छ भन्ने विर्सन सकिदैन ।

तर कांग्रेस यसै गरी उभिन मिल्छ ?

प्रधानमन्त्री ओली चाहन्छन् – निर्वाचन । अब निर्वाचन भए ओलीको बहुमत आउँदैन भन्ने स्वयं उनलाई पनि थाहा छ । कुनै पनि एक दलको बहुमत नपुग्ने संसद बन्छ र त्यसबाट राजनीतिक अस्थिरता भइरहन्छ भन्ने निश्चित छ । यसैका लागि ओली परिचालित छन् भन्ने कतिपयको बुझाई छ ।

प्रधानमन्त्री ओली जहाँबाट परिचालित भए, कांग्रेसले पनि त्यसमै काँध थापेर हिँड्न किन जरुरी ?
अहिलेको मुख्य प्रश्न यहि हो । हिजोसम्म ‘हामी सरकारको नेतृत्व गर्दैनौं, प्रधानमन्त्री भएर के गर्ने, बाँकी तल सबै उनीहरुका मान्छे छन् । हाम्रा माग पूरा हुँदैनन्’ भन्ने महन्थ ठाकुर अहिले प्रधानमन्त्रीमा दावी गर्न थालेका छन् । यसको अर्थ हो – अब कांग्रेस र जसपा दुवैले प्रधानमन्त्री नछाड्ने, अनि नयाँ सरकार नबन्ने र मुलुक निर्वाचनमा जाने ।

कांग्रेस भनेको देशको खाँबोको भूमिकामा रहने राजनीतिक दल हो । यो दलले मुलुकको हित बमोजिम निर्णय लिनुपर्छ । यो बेलाको आवश्यकता निर्वाचन होइन । ओली सरकार चल्न सकेन भने विकल्प दिने काम कांग्रेसको हो । यसका लागि कांग्रेस नेतृत्व कति तत्पर होला । हेर्न बाँकी छ । टिप्पणी

प्रतिक्रिया दिनुहोस्