Logo

मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन आज




काठमाडौं । मेलम्ची खानेपानी योजनाको पानी वितरणको औपचारिक उद्घाटन आज राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् ।

भृकुटीमण्डपमा नवनिर्मित धारा खोलेर राष्ट्रपति भण्डारीले मेलम्चीको पानी वितरणको उदघाटन गर्ने कार्यक्रम तय छ ।

दिउँसो दुई बजे हुने मेलम्चीको पानी वितरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने छन् ।

काठमाडौँमा गएको आइतबार (चैत १५) गते देखि नै मेलम्चीको पानी वितरण सुरु गरिएको थियो।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आजदेखि बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पनि पानी वितरण सुरु गरेको छ ।

बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा शुक्रबार बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ ।

आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।

अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ ।
लिमिटेडले पानी वितरण गर्ने क्षेत्र बढाइरहेको छ । पहिलो चरणमा दैनिक चार करोड लिटर ल्याइएकामा अहिले दैनिक साढे आठ करोड लिटर आइरहेको शाक्यले बताए।

उनका अनुसार महाराजगञ्ज पोखरीमा बिहीबारदेखि नै पानी पठाउन थालिएको छ। यही चैत १५ गतेदेखि उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको हो । पहिलो चरणमा पुरानो महाङ्काल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण सुरु गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्