एमालेमा लागेका यी सांसदको जाँदै छ पद (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्र छोडी केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा लागेका १३ जना सांसदहरुको पद केही दिन भित्रै जाने भएको छ । माओवादी केन्द्रले पार्टीमा फर्किन दिएको निर्देशन अवज्ञा गरेका उनीहरुलाई सांसद पदबाट मुक्त गर्ने तयारी थालिएको छ ।
माओवादी केन्द्रबाट निर्वाचित संघीय संसदका ६ सहित १३ जना सांसदको पद रिक्त हुने भएको छ । पदमुक्त हुन लागेकामा प्रतिनिधिसभाका चार र राष्ट्रियसभाका दुई सांसद छन् भने बाँकी प्रदेश सभाका सांसद रहेका छन् ।
माओवादी केन्द्रले चैत १ मा एमालेमा लागेका आफ्ना सबै सांसदहरुलाई फिर्ता हुन निर्देशन दिँदै चौबीस घण्टे स्पष्टीकरण सोधेको थियो । तर, एक साता बितिसक्दा पनि कुनै पनि सांसदले स्पष्टीकरण बुझाएका छैनन् ।
तत्कालिन माओवादीका नेता रामबहादुर थापा बादलसहितका केही नेता मन्त्री छन् । उनीहरुले ओली नेतृत्वको एमालेकै जिम्मेवारी पनि लिइसकेका छन्। उनीहरु नफर्किने निश्चित भएपछि उनीहरुलाई सांसदबाट मुक्त गर्ने तयारी माओवादीले थालेको हो । माओवादी केन्द्रले पार्टीबाट निर्णय गरी निर्वाचन आयोगलाई सिफारिस गरेपछि उनीहरु पदमुक्त हुने छन् ।
ओली सरकारमै मन्त्री रहेका मणि थापा र दाबा लामा भने सांसद छैनन् ।
सांसद पदबाट मुक्त हुनै लागेकाहरु
प्रतिनिधिसभा
१. टोपवहादुर रायमाझी, अर्घाखाँची
२. लेखराज भट्ट,कैलाली ४
३. गौरीशंकर चौधरी, कैलाली ३
४. प्रभु साह, रौतहट ३
राष्ट्रियसभा
१. रामबहादुर थापा ‘बादल’
२. चन्द्रबहादुर खड्का
प्रदेशसभा
१. टंक आङवोहाङ,ताप्लेजुङ
२. ज्वालाकुमारी साह,बारा
३. दधिराम न्यौपाने, रुपन्देही
४. दिनेश पन्थी,गुल्मी
५. ठम्मर विष्ट, सुर्खेत
६. धर्मराज रेग्मी, दैलेख
७. झपट बोहरा, अछाम