Logo

धुम्बाराही क्षेत्रका महाठग लोकनाथ सापकोटा

४० करोड ठगे, पूर्वउपराष्ट्रपति पनि भए सिकार



काठमाडौं । धुम्बाराही क्षेत्रमा अहिले लोकनाथ सापकोटा भनेपछि नचिन्ने मान्छे कमै भेटिन्छन् । एउटै क्षेत्रका १५ सय जति मान्छेलाई ठगेर दुःख दिने सापकोटा अहिले चाहिँ जेलमा छन् ।
३० लाख रुपैयाँ एक व्यक्तिबाट लिएर पैशा दिनुको सट्टा मौज्दात नभएको खाताको चेक काटेर झुक्याउन खोज्दा सापकोटा बैंकिङ कसुरमा जाकिए ।

पीडितले ३० लाख रुपैयाँको दावी गर्दै महानगरीय प्रहरी परिसर बौद्धमा उजुरी दिए । उजुरीपछि सापकोटालाई प्रहरीले पक्राउ गरी केही दिन राख्यो । वृत्तका डिएसपी नविन कार्कीले भने, ‘अदालतले ३० लाख धरौटी माग गर्यो । बुझाउन नसकेपछि सापकोटालाई कारागार चलान गरिएको छ ।’

चेक बाउन्सको मुद्दामा पीडित पक्षसँग प्रमाण बलियो हुँदा सापकोटा अहिले जेल गएका छन् । पीडितको रकम पनि मुद्दाको छिनोफानो हुँदासम्ममा असुल उपर त होला । तर मामिला यो भन्दा खतरनाक चाहिँ धुम्बराही तिरै छ ।

धुम्बाराहीस्थित आनन्दनगर बचत तथा ऋण सहकारी संस्थामा स्थानीयले बचत तथा सेयरको रुपमा राखेको झण्डै ५० करोड रुपैयाँ यीनै सापकोटा र यीनको गिरोहले ठगी गरेको छ । यति ठूलो रकम हिनामिना गर्ने सापकोटा सहकारीको व्यवस्थापक हुन् ।

सहकारीमा राखेको रकम, गरेको लगानी फिर्ताका लागि स्थानीयले पटक पटक ताकेता गरे तर सहकारी सञ्चालकले पैशा दिनुको सट्टा आलटाल मात्रै गरिरहे ।

यो मामिला चलिरहेपछि पीडितहरुले ठगी मुद्दा पनि दायर गरेका छन् । धुम्बराहीस्थित आनन्दनगरका एक पीडितले भने, ‘पटक पटक माग्दा पनि पैशा दिने नियत नदेखाएपछि कानुनी उपचारमा लागेका हौं ।’

सापकोटा र उनको समूहले नौ सय ९९ जना निक्षेपकर्ता र ७ सय ६९ जना सेयर सदस्यको रकम हिनामिना गरेको प्रहरीको भनाइ छ ।

रोचक त के छ भने यो ठगी काण्डमा पूर्वउपराष्ट्रपति परमानन्द झा, नेपाल सरकारका पूर्वसचिव श्याम मैनालीसमेत पीडित भएका छन् ।

गत वर्ष नै सेयर सदस्य र निक्षेपकर्ताहरु विरोधमा उत्रिएका थिए । चर्को विरोध भएपछि सात जना सञ्चालकले आफ्नो घर जग्गा संस्थाको नाममा दृष्टि बन्धक राख्न तयार भएका पनि थिए । ती मध्ये एक जनाले मात्रै सम्पत्ति दृष्टि बन्धक राखेको र बाँकी सञ्चालकहरु जनताको पैशा फिर्ता गर्नुको सट्टा मुद्दा मामिला गर्ने, राजनीतिक संरक्षण खोज्दै हिँड्न थाले ।

सहकारीमा रहेको जनताको पैशा ठग्ने अनि सञ्चालक समितिमा नरहेको देखाएर अपराधबाट उम्किने उपाय केहीले अवलम्वन गरेका छन् ।

१ हजार भन्दा बढी ठगी गरेको अभियोगमा संस्थाका पूर्वअध्यक्ष बद्रीप्रसाद ओझा (हाल निधन भइसकेको), निवर्तमान अध्यक्ष नरेन्द्रबहादुर कार्की, निवर्तमान उपाध्यक्ष शम्भुराज आचार्य, निवर्तमान सचिव प्रदीप पौडेल, निवर्तमान कोषाध्यक्ष प्रदीप खड्का र सञ्चालक समितिका निवर्तमान सदस्यहरु होतराज शर्मा, लक्ष्मण प्रधान, शारदा पन्त, केशव घिमिरे, दिपुराज उपाध्याय छन् ।

२०६५ सालदेखि सञ्चालनमा रहेको आनन्दनगर सहकारी सस्थाबाट व्यक्तिगतरुपमा जग्गा किन्न, कम्पनीको सेयर किन्न, आफू खुशी ऋण दिन तत्कालिन सञ्चालक सदस्यहरुबाट करोडौं रुपैयाँ अपचलन भएको देखिन्छ । सर्वसाधारण जनताको रकम फिर्ता गर्नुपर्ने दबाब बढेपछि टाढिँदै आएका उनीहरुले रकम पचाउने नियतले हालै उच्चअदालतमा परमादेशको आदेशमार्फत कानूनी निकायबाट सो सम्बन्धमा कुनै कारवाही, अनुसन्धान, छानवीनसमेत गर्न नपाउने गरी रोक लगाउन माग गरेका छन् ।

गत वर्षबाट बचतकर्ताहरूले आफ्नो रकम भुक्तानी माग्दा पाउन छोडेपछि संस्थाभित्रको बदमासी बाहिर आउन थालेको थियो । त्यसपछि संस्थाका व्यवस्थापक भारततर्फ भागेका थिए, निजलाई प्रहरीमार्फत झिकाई छलफल गर्दा संचालकहरू सम्पूर्ण र कर्मचारीहरू सबै मिलि आर्थिक बर्ष २०६८–६९ देखि गलत लेखापरीक्षण प्रतिवेदन तयार पार्दै ठगी हुँदै आएको तथ्य खुलेको थियो ।

पीडितहरूले उनीहरूविरुद्द जाहेरी दिने तयारी गरेपछि तत्कालिन संचालकहरूले आफ्नो जिम्मेवारीमा निज व्यवस्थापकलाई प्रहरीबाट निकाली पीडितहरूको रकम भुक्तानी गर्ने आश्वासन दिएका थिए ।

यस विषयमा मिति २०७६ फागुन २३ गते सम्पन्न साधारण सभामा तत्कालिन सञ्चालक र पूर्वसंचालक समेत गरी सात जनाले कानपा ४ आनन्दनगर र धुम्बाराहीस्थित घरजग्गा पीडितहरूको रकम भुक्तानी गर्ने सुरक्षाका लागि स्थानीय तहका प्रतिनिधिः वडा अध्यक्ष र सदस्यहरू समेतको उपस्थितिमा दृष्टी बन्धक गरिदिने सर्तमा मन्जुर गरी मालपोत कार्यालयमा गई २०७६ चैत्र ६ दृष्टी बन्धक पनि गरे ।

केही संचालकहरूले सम्पूर्ण रकम माघ मसान्तसम्म भुक्तानी गर्ने लिखित र मौखिकरुपमा पटक पटक प्रतिवद्धता गरे पनि हालसम्म १० प्रतिशत रकम मात्र पीडितहरूले दामासाही हिसावले प्राप्त गरेका छन् । रकम भुक्तानी गर्न आग्रह गर्दा आनाकानी गर्ने, आफूहरूको सम्पर्कभन्दा बाहिर रहने, अदालतमा मुद्दा गरेर समय लम्ब्याउने र सकेसम्म रकम फिर्ता नगरी पचाउने योजना बनाएको पीडितहरुको भनाई छ ।

कुन कुन वर्षबाट ठगी भयो ? भन्नेबारे अनुसन्धानात्मक लेखापरीक्षण ३ वर्ष आठ महिना अवधिको सम्पन्न भई प्राप्त प्रतिवेदनमा तत्कालिन सञ्चालक र कर्मचारीसमेतको मिलिभगतमा रकम अपचलन र दुरुपयोग भएको उल्लेख छ ।

पीडितहरुलाई विश्वास दिलाउन संस्था नाफामा गएको नक्कली विवरण तयार गरी साधारण सभामा मुनाफाको केही प्रतिशत र यातायात खर्च समेत दिई, साँझमा भोजको समेत आयोजना गरी निक्षेप तथा सेयर लगानी बढाउन आग्रह गर्ने काम केही वर्षदेखि हुँदै आएको थियो ।

सस्थाको नामको र व्यक्तिगत चेक भुक्तानी नै नमिल्ने गरी काट्ने जस्ता चेकको अनादर र बकिङ कसुरसम्बन्धी अपराध उनीहरुबाट सहजै हुँदै आएको थियो ।

संस्थाका व्यवस्थापक लोकनाथ सापकोटासँग सञ्चालकले मिलिभगत गरी ठगिएको रकम कर्मचारीको जिम्मामा पार्ने र आफूले गरेको ठगीबाट उन्मुक्ति पाउने प्रपञ्च रचेर व्यवस्थापकविरुद्द आपसी समझदारीमा ३९ करोडको चेक काटन लगाई सोको भुक्तानी हुननसक्ने परिस्थिति बनाई अदालतमा चेक अनादर मुद्दा दर्ता गरेको समेत पीडित पक्षको भनाई छ ।

विभिन्न मितिका संचालक समितिको निर्णय र गत फागुनको विशेष साधारणसभाबाट ठगीमा संलग्न सञ्चालकहरूले स्वतःस्फुर्तरुपमा यो रकम भुक्तानी गर्ने पदीय र नैतिक जिम्मेवारी आफूहरूको भएको स्वीकार गरी माइन्युटमा सही गरेको देखिन्छ ।

साथै, धितो बिना करोडौं रुपियाँ ऋण दिएको लेखापरीक्षणबाट देखिएको छ । राखिएका धितोहरू पनि सस्थामा रिकर्ड नराखी ऋण भुक्तानी भएको, त्यस्तो धितोहरु ऋण भुक्तानी भइसकेको भन्दै सम्बन्धित मालपोत कार्यालयमा पत्राचार गरी फुकुवा गर्ने काम भएको प्रतिवेदनले औंल्याएको छ ।
ऋणी नरेन्द्र चन्दको धितो राखिएको नवलपरासीको जग्गा फुकुवा गरी बिक्री समेत भएको छ ।

चन्दबाट रु ६४ लाखको कागज बनाई तनहुँको डुम्रे नजिक नाला भन्ने स्थानमा संचालकमध्येका प्रदिप पौडेलका नाममा करीव दुई रोपनी घडेरी पास गर्ने काम भएको छ । पौडेलले पटक पटक सो जग्गा सहकारी कै भएको स्वीकार गर्दै आपसी सल्लाहमा नरेन्द्रका श्रीमती र भाईको नामबाट लिखत बदर मुद्दासमेत हाल्न लगाएका थिए ।

रकम अपचलनमा संलग्न सञ्चालकहरुले लामो समयदेखि करीव २० करोड रुपिया व्यक्तिगत खातामा राखी अपचलन गर्दै आएका देखिन्छ । उनीहरुले सस्थामा रकम नै जम्मा नगरेका केही व्यक्तिहरूको नाममा मोटो रकम प्रविस्ट गरी संस्थालाई ठग्दै आएका पनि देखिएको लेखापरीक्षणबाट देखिएको हो ।

सञ्चालकहरुले ऋण प्रवाह गर्दा प्रक्रिया नपुर्याई, अचल सम्पती धितो र व्यक्ति जमानी समेत नराखी प्रायः सबै ऋण असुली नहुने परिस्थिति सिर्जना गरेको संस्थाका सदस्यहरुको भनाई छ । ऋणीहरूसँग रकम माग गर्ने मनोवल समेत उनीहरुमा नदेखिएको भन्दै एक सदस्यले हालसम्म एक वर्षमा उठेको रकम पीडितहरूकै क्रियाशिलताबाट उठेको बताए ।

प्रतिक्रिया दिनुहोस्