Logo

आज ओलीको रमिता, भोलि खनाल–नेपालको जात्रा, ताली पिट्दै बामदेव



काठमाडौं । नेकपा एमाले पुनर्स्थापित भएको खुसियालीमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चियापानको आयोजना गरे । चियापानमा खानपिन मात्रै चलेन, ओली पक्षीय नेता कार्यकर्ताबीच बधाई साटासाट र नाचगान नै चल्यो ।

ओली र उनका समर्थकहरु बालुवाटारमा रमाइरहँदा सोही पार्टीका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष बामदेव गौतम भने देखिएनन् । उनीहरु मात्रै होइन, उनीहरु समर्थित नेता तथा कार्यकर्ता पनि बालुवाटार पुगेनन् ।

२३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलाका कारण ब्यूँतिएको एमाले विभाजित अवस्थामा छ । ओली, खनाल–नेपाल र गौतमले तीन भिन्न गुटको नेतृत्व गरिहेका छन् ।

आफूँलाई मध्यमार्गी र एकताको भूमिकामा देखाउने बताउँदै आएका गौतम पनि बालुवाटार पुगेनन् । बरु उनले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गरेर बसे ।

पुनर्स्थापित एमाले अहिले काँक्रो चिरेझै तीन चिरामा बाँडिएको छ । पार्टी पुनर्स्थापना भएको भन्दा पनि पार्टीबाट असहमत पक्ष बाहिरिन लागेको खुसियालीमा ओलीले आफ्ना आसेपासेलाई भोज खुवाएको ओली इतर पक्षका नेताहरुको आरोप छ ।

पार्टीलाई एकताबद्ध बनाउने समयमा अध्यक्षले नै गुटबन्दी गरेर अरुलाई हटाएकोमा खुसियाली मनाइरहेको उनीहरुको दाबी छ ।

ओलीले अध्यक्ष र महासचिव बाहेक अन्य सबै पद खारेज गरेर अधिकांश नेताहरुलाई जिम्मेवारी मुक्त गरिसकेका छन् । जिम्मेवारी मुक्त हुनेमा अधिकांश खनाल–नेपाल समूहका छन् ।
ओलीले चियापान गरेको होइन, पार्टी संकटमा परेका बेला रमिता देखाएको हो, एक नेताले भने, यो रमिता अब धेरै दिन टिक्ने छैन ।

खनाल–नेपाल समूहले भोलि र पर्सी काठमाडौंमा आफूँ पक्षीय नेता तथा कार्यकर्ताहरुको राष्ट्रिय भेला गरेर ओली र उनी पक्षधर नेताहरुलाई जवाफ दिँदै छ । कारबाही गर्ने ओलीको कडा चेतावनीका बीच भेलाको तयारी पूरा भएको जनाइएको छ ।

एमालेमा देखिएको तिक्तताको असर गाउँ तहसम्म पुगेको छ । खनाल–नेपाल समूहको भेलामा केन्द्रीय कमिटीदेखि स्थानीय तहका जनप्रतिनिधि तथा पार्टी कमिटीका नेताहरुलाई पनि बोलाइएको छ ।

खनाल–नेपाल समूहको भेलालाई पार्टीको विभाजनको अभ्यासको रुपमा ओली पक्षले लिएको छ । उहाँहरु जात्रा देखाउने तयारीमा हुनुहुन्छ, ओली पक्षीय एक नेताले भने, यो एउटै पार्टीको होइन, छुट्टै पार्टीको अभ्यास हो ।

दुई ठूला गुटले फरक फरक अभ्यास गरिरहँदा मध्यमार्गी भनिएका गौतमको भने कुनै भूमिका देखिएको छैन । ५ पुसपछि नै बाहिरै बस्दै आएका गौतमले यी दुई समूहको विवादमा पनि रमिते भन्दै बाहिरैबाटै ताली बजाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्