Logo

लेखराज भट्टको इन्ट्रीसँगै सुदूरपश्चिम एमालेमा त्रिपक्षीय भिडन्त



काठमाडौं । नेकपा माओवादीका केन्द्रका नेता लेखराज भट्टका कारण नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संगठन विवादित र विभाजित बनेको छ । तत्कालिन नेकपामा देखिएको विभाजनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका भट्ट नेकपा खारेजीपछि पनि ओलीसँगै नेकपा एमालेमा रहने बताएका छन् । भट्टको एमाले प्रवेशसँगै एमाले सुदूरपश्चिम प्रदेशमा नयाँ विवाद शुरु भएको छ ।


एमालेका उपाध्यक्ष भीम रावल सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन् । नेकपामा पनि रावल नै इन्चार्ज थिए । तर, रावल प्रचण्ड–नेपाल खेमामा लागेपछि ओलीले रावलको सट्टा भट्टराई इन्चार्ज तोकेका थिए ।
नेकपा खारेजीसँगै एमाले र माओवादी छुट्टाछुट्टै दल बनिसकेपछि दुवै दल पुरानै संरचनामा फर्किसकेका छन् । तर, ओली पक्षले भने सुदूरपश्चिम प्रदेश कमिर्टीको इन्चार्ज लेखराज भएको भन्दै रावल विरुद्ध चलखेल गरेपछि एमालेमा नयाँ विवाद झाँगिदै गएको छ ।

रावलले आफूँ नै एमालेको प्रदेश इन्चार्ज रहेको बताएका छन् । तर, प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले भने रावल इन्चार्ज नभएको दाबी गरेका छन् । तत्कालिन एमालेमा नै ओली पक्षमा रहेका कर्ण थापाले रावलविरुद्ध मोर्चाबन्दी गर्ने राम्रो अवसर पाएका छन् । उनले त्यसका लागि लेखराज भट्टराई गतिलो हतियार बनाएका छन् ।


कर्ण थापाकै नेतृत्वमा प्रदेश कार्यालयमा रहेको रावलको नेम प्लेटसहितको बोर्ड हटाइएको छ भने लेखराजको मात्रै नाम राखिएको छ । लेखराज एमालेमा कति समय रहने हुन् भन्ने टुंगो नलाग्दै कर्ण थापाले आफ्नो शक्ति प्रदर्शन मात्रै गर्न खोजेको रावल पक्षधरको दाबी छ ।


पुनर्स्थापित एमाले केन्द्रीय कमिटीको बैठक चैत १ मा बस्दै छ । सोही बैठकमा पार्टीका पुराना संरचना ब्यूँताउने निर्णय हुने जनाइएको छ । पुराना संरचना ब्यूताएपछि लेखराज स्वतः बाहिरिने रावल पक्षधरको भनाइ छ ।

अहिले रावल, थापा र भट्टबीच शक्ति संघर्ष शुरु भएको देखिएको छ । तर, एमालेका पुराना कार्यकर्ताहरुले भट्टलाई स्वीकार गर्नेमा भने आशंका छ ।

प्रतिक्रिया दिनुहोस्