Logo

किन फेरियो ओलीका कट्टर विरोधी नेताहरुको बोली ?



काठमाडौं । तत्कालिन नेकपामा रहँदा अध्यक्ष केपी शर्मा ओलीको कट्टर आलोचक मानिने नेताहरु हिजोआज तिनै ओलीको समर्थनमा खरो अभिव्यक्ति दिन थालेका छन् । ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्ष पोषणमा लागेका नेताहरु अहिले नेकपा एमालेमा फर्किएसँगै ओलीकै नेतृत्वमा सरकार र पार्टी अगाडि बढ्ने बताउन थालेका छन् ।
सर्वोच्च अदालतले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरिदिएसँगै तत्कालिन नेकपा एमालेका सबै नेताहरु एमालेतिरै फर्किएका छन् । प्रचण्डको साथ छोडेर पुुरानै घर फर्किएका नेताहरु अमिलो मन लिएर ओलीको बचाउ र प्रशंसामा जुटेका छन् ।
एमालेका उपाध्यक्ष भीम रावल ओलीका कट्टर आलोचक मानिन्छन् । एमालेमै रहँदादेखि नेकपामा रहँदासम्म रावलले ओली र ओली सरकारका हरेक निर्णयको सार्वजनिक रुपमा आलोचना गरिरहे । तर, दुई दिन यता रावलले ओली नै आफूँहरुको अध्यक्ष भएको बताउँदै ओली सरकारलाई बाँकी अवधि पूरा गर्न आफुँहरु पूर्ण रुपमा लागिपर्ने बताएका छन् ।
‘केपी शर्मा ओली हाम्रो पार्टीको अध्यक्ष हो, यो सरकार हाम्रो पार्टीको हो’ रावलले एक अन्तरवार्तामा भनेका छन्, अब हाम्रो दायित्व यो सरकारलाई बिना अबरोध दुई वर्ष चल्न दिनु हो ।
त्यस्तै, ओलीकै अर्का आलोचक तथा नेकपा एमालेका पूर्व अध्यक्ष झलनाथ खनालले पनि केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्नुपर्ने बताएका छन् । सत्तारुढ दल नेकपा एमाले आगामी दुई वर्ष नै वर्तमान सरकार जोगाउन लाग्ने उनले बताए ।
‘नेकपा एमालेको वरिष्ठ नेताको हैसियतले यो सरकार नै दुई वर्ष जानुपर्छ भन्ने म चाहन्छु,’ पूर्वप्रधानमन्त्री खनालले भने, यो सरकार जोगाउन हामी लागिपर्छौं ।
एमालेका अर्का वरिष्ठ नेता माधवकुमार नेपालले भने ओली र सरकारको समर्थनबारे खुलेर बोलेका छैनन्। सर्वोच्चको फैसलापछि विगतको तिता अनुभव बिर्सेर एमालेमै फर्किनुको विकल्प नरहेको उनले यसअघि नै बनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्