Logo

कांग्रेसको अवको भूमिका



सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेपाली राजनीतिमा एउटा नयाँ तरङ्ग ल्याएको छ नै, सँगसँगै थुप्रै समस्या सिर्जना पनि गरेको छ । पार्टीको नाम नेकपा राखेकोमा आपत्ति जनाउँदै ऋषि कट्टेलले दायर गरेको मुद्दामा न्यायाधीशहरुले मागदावी भन्दा अगाडि बढेर नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को एकीकरणसमेतलाई अमान्य गरेर दुई दलको अस्थतत्व ब्युँताइदिएपछि एकैपटक धेरै समस्या उपन्न भएको हो ।


प्रतिनिधिसभालाई असंवैधानिक ढंगले विघटन गरेर निरंकुश र स्वेच्छाचारी बनेका प्रधानमन्त्री केपी शर्मा ओली यसको पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि कमजोर र प्रतिरक्षात्मक अवस्थामा पुगेका थिए । अब उनको निरंकुश शैली र स्वेच्छाचारिताको अन्त्य हुने अपेक्षा गरिएको थियो । तर, सर्वोच्चको पछिल्लो फैसलाले तिनै स्वेच्छाचारी र असंवैधानिक काम गर्ने प्रधानमन्त्रीलाई थप शक्तिशाली र त्यो असंवैधानिक तथा अलोकतान्त्रिक कदमविरुद्ध संघर्ष गर्ने माधव नेपालहरुलाई संकटपूर्ण घडिमा पुर्याइदिएको छ । माग दावीभन्दा अघि बढेर राजनीतिक फैसला हुँदा अदालतको फैसला स्वीकार गर्न सबै वाध्य भएपनि यो विवादरहित हुन सकेन । अघिल्लो फैसलाले उच्चो बनाएको अदालतप्रतिको भरोसामा यो फैसलाले केही संकुचन भने ल्याएको छ ।


माधव नेपालहरुलाई नेकपा एमालेमा नबसेर प्रचण्डसँग मिल्न कानुनी जटिलता छ भने एमालेमा आफैँले सदस्यसमेत हटाएका तिनै ओलीलाई अध्यक्ष स्वीकार गरेर बस्नुपर्ने वाध्यता छ । तर, यही वाध्यता स्वीकार गरेर माधव नेपालहरु एमालेमै फर्कने निष्कर्षमा पुगेपछि अब संसदभित्र बहुमत नभएपनि बहुमतको नजिकको सबैभन्दा ठूलो दल एमाले भएको छ भने माओवादी केन्द्र तेस्रो दल बन्न पुगेको छ ।


यो अवस्थामा नेपाली कांग्रेसको भूमिकाले देखिएका केही समस्या समाधान हुन सक्छन् भने पुनर्स्थापित संसद्लाई ओलीले गराउन खोजेको विकृतिको थलोबाट पनि कांग्रेसको भूमिकाले नै जोगाउन सक्छ । संसदीय व्यवस्थाको हिमायति भएका कारणले यसको बदनाम हुनबाट जोगाउने दायित्व पनि कांग्रेसको हो । अहिलेको असंवैधानिक र अलोकतान्त्रिक क्रियाकलापविरुद्ध संघर्ष गरेर अहिले संकटमा परेका माधव नेपालहरुलाई यो संकटबाट बच्न सहयोग पुर्याउने कर्तव्य कांग्रेसले निर्वाह गर्दा स्वयं कांग्रेसलाई पनि रणनीतिगत हिसाबले धेरै फाइदा पुग्छ ।

अहिले माओवादी केन्द्र र एमाले फेरि अलग–अलग भए पनि माओवादी भन्दा एमाले बलियो भएको हुँदा आगामी निर्वाचनमा यसबाट कांग्रेसलाई त्यति धेरै फाइदा पुग्ने देखिँदैन । एमाले नै सबैभन्दा ठूलो दल हुने अवस्था आउन सक्छ । विगत निर्वाचनमा एमालेसँग सहकार्य गर्दा पनि माओवादी केन्द्रको ३७ सिटमा मात्रै निर्वाचित भएका थिए । तर एमाले भने प्रत्यक्षमा ७९ सिटमा निर्वाचित भएको थियो । यसबाट के प्रष्ट हुन्छ भने माओवादी केन्द्र मात्रै एमालेबाट अलगिँदा उसलाई घाटा त हुन्छ नै तर, कांग्रेस नै ठूलो दल हुने स्तरमा घाटा भने नहुन सक्छ । यस्तो अवस्थामा एमालेबाट माधव नेपालहरुलाई अलग्गिएर प्रचण्डहरुसँग एकता गर्ने वातावरण निर्माण भए मात्रै सन्तुलित दुई पार्टीको विभाजनको प्रभावले आगामी निर्वाचनमा कांग्रेसलाई फाइदा पुग्ने हुन्छ । यसका लागि कांग्रेसले सुझबुझपूर्ण निर्णय लिन जरुरी छ । त्यसका लागि सबैभन्दा पहिला कांग्रेसले यो सरकार हटाउने अभियान थाल्नुपर्छ ।


सर्वोच्चको फैसलापछि संविधानको धारा ७६ (२) को सरकार भएपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा ओलीले विश्वासको मत लिनुपर्छ । त्यो विश्वासको मत लिँदा विपक्षमा बहुमत पुर्याउन कांग्रेसको महत्वपूर्ण भूमिका हुनुपर्यो । दोस्रो, ओली सरकार हटेपछि नयाँ सरकार निर्माण गर्दा कांग्रेसले ओली समूह अर्थात् एमालेबाहेकका दलहरुको समीकरण निर्माणको भूमिका निर्वाह गर्नुपर्यो । अर्थात् कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकारमा कांग्रेसले पहल लिनुपर्छ । यसो गर्दा स्वभाविक रुपले आफ्नो नेतृत्व आए ठीकै छ, नआएपनि कांग्रेसले अहिले धेरै लोभ गर्न हुन्न केवल आफू अनुकूलको सरकार निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छ । यसरी कांग्रेसकै अगुवाई वा पहलमा निर्माण हुने सरकारले नेकपा एमालेबाट माधव नेपालहरुलाई अलग्गिन सजिलो हुने गरी राजनीतिक दलसम्बन्धी कानुन संसोधनको विधेयक ल्याएर पारित गराउनेतर्फ लाग्नुपर्छ । अहिले एमालेभित्र माधव नेपाल पक्षको केन्द्रीय समितिमा ४० प्रतिशतभन्दा बढी संख्या भएपनि संसदीय दलमा ४० प्रतिशत देखिँदैन । उनीहरु विभाजित हुनसक्ने अवस्था छैन । त्यही भएर दुईमध्ये एक स्थानमा ४० प्रतिशत संख्या भए विभाजन गर्न सकिने गरी विधेयक ल्याएर पारित गराउनु उपयुक्त हुन्छ । संसदबाट संभव नभए संसद् अधिवेशनपछि अध्यादेश ल्याएर पनि यो सहजता उपलब्ध भए एमाले फेरि टुक्रिएर माओवादी केन्द्रसँग एकीकरण हुँदा ओली नेतृत्वको एमाले कमजोर हुनेछ, ओलीको स्वेच्छाचारितालाई सहेर बस्न वाध्य माधव नेपाल, झलनाथ खनालहरुलाई मुक्ति मिल्ने छ भने नेपाली कांग्रेस आगामी निर्वाचनबाट सबैभन्दा ठूलो हैसियतमा आउने छ । अहिले त्यति मात्रै होइन यस्तो सहज वातावरण निर्माणका लागि कांग्रेसले सुझबुझपूर्ण ढंगले अग्रसरता लिए ओलीले बदनाम गराउन चाहेको पुनर्स्थापित प्रतिनिधिसभा त्यसबाट जोगिने छ ।

प्रतिक्रिया दिनुहोस्