Logo

प्रचण्ड–माधव समूह आक्रामक, ७ नेतालाई कारबाही, नेम्वाङलाई तीन दिने अल्टिमेटम



काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूह आक्रामक बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएको चार दिनपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले ओली पक्षमा रहेका ७ जना नेतालाई एकसाथ कारबाही गरेको छ ।
बुधबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी समिति सदस्य सुवास नेम्वाङ, केन्द्रीय सदस्यहरु विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा, कर्ण थापा र गोकुल बाँस्कोटालाई कारबाही गरेको हो ।
उपनेता सुवास नेम्वाङमाथि पार्टीको अन्तरिम विधान उल्लंघन गरेको आरोप छ । स्थायी समितिबाट निलम्बन गरिएका उनलाई तीन दिनभित्र उपनेताबाट पनि राजीनामा गर्न निर्देशन दिइएको छ । त्यस्तै, ओलीले प्रमुख सचेतकमा नियुक्त गरेका केन्द्रीय सदस्य विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने र सांसदको जिम्मामा मात्र रहन सचेत गराउने निर्णय गरेको छ।
त्यसैगरी, महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा, गोकुल बाँस्कोटालाई केन्द्रीय सदस्यबाट निष्काशित गर्ने निर्णय बैठकले गरेको छ । यसअघि सो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटसमेत निष्काशन गर्ने निर्णय गरेको थियो। त्यसैगरी, महासचिवबाट विष्णु पौडेललाइ पनि हटाएको थियो।

प्रतिक्रिया दिनुहोस्