Logo

संसद सचिवालयद्वारा ओली समूहलाई मान्यता, प्रचण्ड–माधव समूहलाई लाग्यो धक्का



काठमाडौं । संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा संसदीय दललाई मान्यता दिएको छ ।

सचिवालयले नेकपा संसदीय दलको कार्यालयमा रहेको प्रमुख सचेतकको कार्यालयबाट यसअघिका प्रमुख सचेतक देवप्रसाद गुरुङको नाम हटाएर ओलीले चार दिनअघि नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराईको नाम राखेको छ ।

प्रधानमन्त्री ओलीले प्रमुख सचेतकबाट गुरुङलाई हटाई भट्टराईलाई नियुक्त गरिएको जानकारी सचिवालयमा पठाएपछि सचिवालयले पनि गुरुङको नाम हटाएर भट्टराईको नाम राखेको हो ।

तर, गुरुङले भने नेकपा संसदीय दलको प्रमुख सचेतक आफैं रहेको दाबी गरेका छन् । उनले नेकपाले नयाँ निर्णय नगर्दासम्म आफूँ नै प्रमुख सचेतक रहने बताएका छन् ।

संसद सचिवालयको पछिल्लो निर्णयले पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहलाई धक्का लागेको छ । प्रचण्ड–माधव समूह निकट मानिने सभामुख अग्निप्रसाद सापकोटाले पनि ओलीको कदमलाई साथ दिएको देखिएको छ । गुरुङको नाम हटाएर भट्टराईको नाम राखेपछि नेकपाभित्र गुरुङलाई ओली समूह र संसद सचिवालयले गलहत्याएर कार्यकक्षबाट निकालेको चर्चा चलिरहेको छ ।

५ पुसमा प्रधानमन्त्री ओली संसद विघटन सिफारिस गरेपछि सत्तारुढ नेकपा विभाजित अवस्थामा छ । नेकपाको एउटा समूहको नेतृत्व प्रचण्ड र नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व ओलीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्