Logo

नेकपा विभाजनका सूत्राधार गौतममाथि दुवै समूहको अविश्वास



काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेसँगै दुई दिन एकता अभियान भन्दै खुमलटारदेखि बालुवाटारसम्म चाहरेका नेकपा उपाध्यक्ष बामदेव गौतम फेरि थेच्चिएका छन् ।
जित्नेले एकताका लागि आह्वान गर्नुपर्छ भन्दै १२ फागुनमै खुमलटार पुगेका गौतमले नेकपाकै एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकताको लागि पहल गर्न आग्रह गरे ।
जवाफमा प्रचण्डले ओली बाहेक अन्यलाई समान पदमा स्वागत गर्न आफूँ र आफ्नो समूह तयार रहेको बताए । प्रचण्डको यो जवाफले गौतमलाई सन्तुष्टि मिलेन ।
अर्को दिन गौतम पुगे अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार । बालुवाटारमा बिहानै ओलीसँग वार्ता गरेका गौतमले ओलीबाट पनि चित्तबुझ्दो जवाफ पाएनन् ।
गौतमसँग वार्ता भएको केही बेरमै ओलीले संसदीय दलको मुख्य सचेतक नै परिवर्तन गरिदिए ।
साविकका मुख्य सचेतक देव गुरुङ प्रचण्ड खेमामा छन् । गुरुङका कारण संसदीय दलमा समस्या आउन सक्ने भन्दै ओलीले विशाल भट्टराईलाई मुख्य सचेतकमा नियुक्त गरिएको पत्र थमाइदिए ।
एकताको माहोल बनाउन भन्दै बालुवाटार पुगेर फर्केको केही बेरमा नै ओलीले चालेको कदमले बामदेव फेरि जिल्ल परे । ओलीको कदम एकताका लागि सहयोगी नहुने विश्लेषण गरेका गौतम दुई दिनदेखि भने चुप छन् ।
संसद पुनर्स्थापनापछि दुई दिन मिडियादेखि सामाजिक सञ्जालमा चर्चामा आएका गौतम दुई दिनदेखि भने फेरि गुप्तवासमा छन् । उनको आग्रहलाई नेकपाका दुवै समूहले स्वीकार नगरिदिएपछि उनी निराश बनेको देखिएको छ ।
बामदेव नेकपाका एकमात्र उपाध्यक्ष हुन् । तर, उनी दुवै खेमामा सहभागी भएका छैनन् । दुवै खेमाले उनलाई उपाध्यक्षबाट हटाएका पनि छैनन् ।
संसदीय निर्वाचनमा बर्दियाबाट पराजित भएपछि जब बामदेवले सांसद हुने चाहना व्यक्त गरे, त्यहीँबाट नेकपामा विवाद शुरु भयो । सांसद हुँदै प्रधानमन्त्री बन्ने बामदेवको चाहनाले अन्ततः नेकपा विभाजनसम्म पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्