Logo

प्रधानन्यायाधीश र प्रधानसेनापति भेट गरे लगतै आज प्रधानमन्त्री ओलीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक



काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग प्रधानसेनापति पूर्णचन्द्र थापाले भेट गरे लगतै मंगलबार नै प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन् । बैठक सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजे डाकिएको छ । यसअघि परिषद्को बैठक ५ कात्तिक ०७७ मा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो ।

त्यही राति भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयललाई प्रधानमन्त्री ओलीले बालुवाटारमा स्वागत गरेका थिए ।राष्ट्रिय सुरक्षा परिषद्को बैठक खास अवस्थामा बस्छ । बैठकको अध्यक्षता परिषद्को प्रमुख तथा प्रधानमन्त्रीले गर्छन् ।

खासगरी राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्छ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने चलन छ ।परिषद्का सदस्यसचिव तथा रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले भने, ‘मंगलबार बिहान सुरक्षा परिषद्को बैठक डाकिएको छ । यो नियमित बैठक हो । यसमा निर्णय गर्नुपर्ने एजेन्डा केही छैनन् ।’ सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ । परिषद्को सदस्यसचिव भने रक्षाका सचिव हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्