Logo

‘विप्लव समूहसँग वार्ता गर्छौैं भन्दा कतिपयमा आतंक छायो’–प्रधानमन्त्री ओली



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ता गर्न प्रक्रिया अघि बढाउँदा केही राजनीतिक दलहरुलाई मन नपरेको प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन् ।

आइतबार पाँचौ इन्द्रदह पर्यटन उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवस्थाको विरोधमा हतियार उठाइरहेको विप्लव समूहका नेता विप्लवले सरकारसँग वार्ता गरी समाधानमा जान्छौँ भनेर वक्तव्य निकालेपछि कतिपयलाई आतंक छाएको बताए ।

विप्लव समूहले वार्ता गर्ने भएपछि उक्त समूहलाई प्रयोग गर्न चाहनेहरुमा छट्पटी भएको पनि प्रधानमन्त्री ओलीको भनाइ छ ।

पृथकतावादको कुरा गरिरहेका सिके राउत पृथकतावाद छोडेर राष्ट्रिय राजनीतिको मुलधारमा आउँदा पनि अरुलाई छट्पटी भएको प्रधानमन्त्री ओलीले बताए ।

उनले भने, ‘विप्लवले सरकारसँग वार्ता गर्छौँ, वार्ता गरेर समाधानमा जान्छौँ भनेर वक्तव्य निकालेछन्। कतिपयलाई आतंक छायो। केहीलाई छट्पटी भएको छ ।’

उनले देश, जनता र विकासप्रति इमान्दार भइ योगदान गर्नुपर्ने पनि बताए। राष्ट्रिय एकता कायम गर्ने कुरामा र देशलाई एकजुट बनाएर लाने कुरामा एकताबद्ध हुनुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने भन्दै चुनावी अभियानमा जुट्न पनि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्