Logo

नेकपा फुटेसँगै फरक भयो श्रीमान श्रीमतीको पार्टी



काठमाडौं । सशस्त्र संघर्षदेखि एउटै पार्टीमा रहेका तत्कालिन नेकपा माओवादी नेता÷नेतृहरु अहिले भने फरक फरक पार्टीमा आबद्ध भएका छन् । पहिले माओवादीमा रहेका सिन्धुपाल्चोकका दुई नेकपा नेताको परिवारमा पार्टी एकीकरणमा पनि कुनै समस्या थिएन ।
तर, जब नेकपा फुट्यो, उनीहरुको परिवारमा पनि फुटको असर पर्यो । श्रीमानहरु प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा छन् भने श्रीमतीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपामा छन् ।
पूर्व माओवादी नेता एवम् वर्तमान खेलकुदमन्त्री दाबा तामाङ र पूर्वमाओवादीका बिग्रेड कमाण्डर राजकुमार श्रेष्ठको परिवारमा नेकपा विभाजनको असर परेको हो ।
तामाङ र श्रेष्ठ ओली पक्षीय नेकपामा लागेका छन् भने उनीहरुका श्रीमतीद्वय कुमारी मोक्तान र देवी खड्का प्रचण्ड–माधव पक्षीय नेकपामा छन् । तामाङ वागमती प्रदेशसभाकी सदस्य हुन् भने खड्का पहिलो संविधानसभाकी सदस्य हुन् ।
श्रीमान र श्रीमतीले आ आफ्नो राजनीतिक भविष्य खोज्दा पार्टी नै फरक फरक हुन पुगेको उनीहरु बताउँछन् । सिन्धुपाल्चोककै नेता सभामुख अग्निप्रसाद सापकोटा प्रचण्ड नेपाल खेमामा छन् । त्यही खेमामा रहँदा आफ्नो राजनीतिक भविष्य राम्रो नहुने तामाङ र श्रेष्ठको आँकलन रहेको छ ।
श्रीमानहरुले समूह परिवर्तन गरेपनि श्रीमतीहरुले भने साथ दिएनन् । उनीहरु पहिलेदेखि नै रहेको समूहमा आबद्ध भएका छन् ।
श्रीमान श्रीमतीको पार्टी फरक परेपनि परिवारमा भने समस्या नआएको उनीहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्