Logo

एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, अध्यक्ष पन्त र उपाध्यक्ष केसी मौन, कर्मचारीले एयरपोर्टमा फोटो खिच्दै, बिल बनाउँदै



काठमाडौं । गैरआवासीय नेपाली संघले अप्ठेरोमा परेका मध्य पूर्वका केही राष्ट्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको उद्धारका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा स्थापना गरेको उद्धार कोषको व्यापक दुरुपयोग भएको खुलासा भएको छ ।
प्रभावित देशहरुमा रहेका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्य तथा सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद्लाई समेत जानकारी नदिई कोषको रकम खर्च भइरहेको खुलासा भएको छ ।
कोषको दुरुपयोगका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको र पीडितले सहयोग पाएकोबारे पनि कुनै जानकारी नगराइएको भन्दै एनआरएनए मध्यपूर्व संयोजक प्रवीण गुरुङ र उपसंयोजक मनोज गोरखालीले संघका अध्यक्ष कुमार पन्तसहित अन्तर्राष्ट्रिय परिषदको ध्यानाकर्षण गराएका छन् ।
युएई, साउदी अरब, कतार, बहराईन, कुवेत, ओमान र एशिया क्षेत्रको राष्ट्र मलेशियामा अप्ठ्यारोमा परेको नेपाली श्रमिकहरुको उद्धारको निम्ति अन्तर्राष्ट्रिय श्रम संगठनबाट प्राप्त दश करोड रुपैयाँको सहयोगमा उद्धार कोष स्थापना गरिएको हो । यो कोषको नेतृत्व संघका उपाध्यक्ष डा. बद्री केसीले गरेका छन् ।
नेपाली जनसम्पर्क समिति, दुबईका अध्यक्ष भुवानीप्रसाद तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमा अनियमितता भएको भन्दै छानबिनका लागि मागसहित उल्लेख गरेपछि यो विषय सार्वजनिक भएको हो ।
गैरआवासीय नेपाली संघको काठमाडौंस्थित कार्यालयमा कार्यरत कर्मचारीहरु प्रयोग गरेर कोषको दुरुपयोग गरिएको तिमिल्सिनाले उल्लेख गरेका छन् ।
उनका अनुसार नेपालस्थित कार्यालयका कर्मचारीहरुको काम बिहानै एअरपोर्ट जाने र युएई लगायत कतार र साउदी अरबबाट नेपाल फर्किएका नेपालीहरुलाई भेटी उनीहरुको कागजात लिने र उनीहरुकै नाममा भुक्तानी रसिद बनाउने गरिएको छ ।
वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको कागजातको फोटो खिच्ने र प्रतिव्यक्ति पैतीस हजार उपलब्ध गराइएको फर्जी बिल बनाउने गरिएको पनि उनको दावी छ ।
तिमिल्सिनाले लेखेका छन्, ‘अध्यक्ष कुमार पन्त ज्यू यसको जवाफ दिनु होला ।’
संघका मध्यपूर्व संयोजक प्रवीण गुरुङ र उप संयोजक मनोज गोरखालीले त्यसबारे आफूहरुलाई कुनै जानकारी नभएको जनाएका छन् ।
संयोजक गुरुङले आफ्नो विज्ञप्तिमा भनेका छन् , ‘अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको मिलेमतोमा स्वदेश फर्किने नेपालीहरुको नाममा आर्थिक चलखेल हुने गरेको कुरा संघको नामसँग जोडिएर सुन्नमा आउनु निकै निन्दनीय छ ।
उनले यसबारे तत्काल छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न अध्यक्ष पन्तको ध्यानाकर्षण गराएका छन् ।
गुरुङले यसबारेमा आफूसहित यस क्षेत्रमा रहेका कुनै पनि पदाधिकारीहरुलाई अनियमिततााबारे जानकारी नभएको भन्दै समस्यामा परेका व्यक्तिहरुको विवरण संकलनमासमेत आफूहरुसँग कुनै परामर्शसमेत नगरिएको स्पष्ट पारेका छन् ।
त्यसैगरी उपसंयोजक गोरखालीले पनि विज्ञप्ति जारी गर्दै भनेका छन, “यस सम्बन्धी कुनै पनि कमिटीमा म आफू नरहेको र गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय परिषदको तर्फबाट आइएलओको कुनै पनि पदीय जिम्मावारीमा पनि म आफू नरहेको जानकारी गराउन चाहन्छु।“
गोरखालीले संघको कुनै पनि आर्थिक अनियमिता, अपारदर्शी र भ्रष्टाचार जस्तो गंभीर आरोप लागेको राष्ट्रिय समन्वय परिषदहरुमा निष्पक्ष ढंगले छानबिन गरी दोषीउपर कडा भन्दा कडा कारबाहीको माग गरेका छन् । उनले यसबारेमा अध्यक्ष कुमार पन्तको ध्यानाकर्षण गराएका छन् ।
कोषको रकम दुरुपयोगका बारेमा चौतर्फी आलोचना भएपछि बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रवक्ता डिबी क्षेत्रीले सामाजिक सञ्जालमा लगाइएको आरोपमा सत्यता नभएको बताएका छन् ।
उनले मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरुको उद्धारको लागि संघले सकृय रुपमा काम गर्दै आइरहेको उल्लेख गर्र्दै त्यसको जानकारी संघका पदाधिकारीहरुलाई बेलाबेलामा दिइएको जनाएका छन् ।
राहत तथा उद्धारका क्रममा कुनै कमी कमजोरी भेटिएमा र आर्थिक हिनामिनामा कुनै व्यक्ति संलग्न भएको देखिएमा कानून बमोजिम कारबाहीको प्रकृया अघि बढाइने उनले स्पष्ट पारेका छन् । उनका अनुसार उद्दार कार्य अझै जारी छ ।
यो कोषको सञ्चालनको जिम्मेवारी उपाध्यक्ष डा. बद्रि केसीलाई दिइएको छ । खाडी मुलुकबाटै अनियमितताको कुरा आइरहँदा अध्यक्ष कुमार पन्त र उपाध्यक्ष केसीले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्