Logo

जेठमा परीक्षा, असारबाट नयाँ शैक्षिक सत्र



काठमाडौं । सरकारले जेठमा विद्यालयतहका सबै परीक्षा सञ्चालन गरी असारबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने तयारी गरेको छ ।
शिक्षा मन्त्रालयले जेठ महिना भित्र शैक्षिक सत्र २०७७ का सबै परीक्षा सम्पन्न गर्ने कार्यतालिका बनाउन मातहतका विभागहरुलाई निर्देशन दिएको छ ।
शिक्षा मन्त्रालयको यो निर्देशनसँगै शैक्षिक सत्र दुई महिनापछि धकेलिएको छ । अघिल्ला वर्षहरुमा चैतमा माध्यमिक तहका सबै कक्षाहरुको वार्षिक परीक्षा हुने गर्दथ्यो भने बैशाखबाट नयाँ शैक्षिक सत्र शुरु हुने गर्दथ्यो ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका अनुसार, आगामी जेठमा माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुने छ । एसईइ सकिएपछि असारबाट नयाँ शैक्षिक सत्रको कक्षा सन्चालन गरिने छ ।
‘जेठमा एसईई हुने छ, काठमाडौंमा आयोजित एक कार्यक्रपछि मन्त्री श्रेष्ठले भने ‘एसईई सकिएपछि असारबाट नयाँ शैक्षिक सत्र शुरु हुने छ, मन्त्रालयले सबै विभागहरुलाई भनिसक्यो ।’
कोरोना महामारीका कारण चालु शैक्षिक सत्रमा विद्यार्थीहरुले लामो समय नियमित पठन पाठन गर्न पाएका छैनन् । कोरोना महामारीबाट कम प्रभावित क्षेत्रमा दशैंपछि अर्थात कात्तिकदेखि विद्यालय सञ्चालन गरिएपनि राजधानी काठमाडौं उपत्यका लगायत कोरोनाबाट बढी प्रभावित क्षेत्रमा भने माघको अन्तिम साताबाट मात्रै विद्यालय खुलेका हुन् ।
सरकारले असारबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने तयारी गरेपनि राजधानीका निजी (संस्थागत) विद्यालयहरुले भने वशन्तपन्चमी (श्रीपन्चमी)को दिनबाट अक्षर आरम्भको नाममा आगामी शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना खुला गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्