Logo

रामायणबारेको नयाँ कृति ‘अध्यात्मरामायण’ बजारमा




काठमाडौं । रामायण महाकाव्यको पदार्थ, भावार्थ र विवरणसहितको एक नयाँ कृति बजारमा आएको छ । महेश संस्कृत गुरुकुलमा संस्थापित विद्येश्वर भगवान्को पन्ध्रौँ वार्षिकोत्सवको अवसर पारी डा. स्वामी रामान्द गिरीद्वारा लिखित नयाँ कृति ‘अध्यात्म रामायण’को हालै लोकार्पण गरिएको छ ।

नेपाली व्याख्यासहितको अध्यात्मरामायणको महेश संन्यास आश्रमका वर्तमान पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिले लोकार्पण गरेका हुन् ।

पुस्तक लोकार्पण गर्दै पीठाधीश गिरीले मानवजीवनमा राम शब्दको आदि मध्य र अन्त्य सबै अवस्थामा विशेष महत्त्व रहेको उल्लेख गर्दै अध्यात्मरामायणको पदार्थ, भावार्थ र विवरणसहित यति विस्तृत व्याख्या भएको ग्रन्थ अन्य कुनै पनि भाषामा आजसम्म प्रकाशित नभएको उल्लेख गरे ।
कार्यक्रममा संस्कृतभाषाबाट आफ्नो सम्बोधन गर्दै गुरुकुलका प्राचार्य डा. गुरुप्रसाद सुवेदीले विद्यातत्त्वको बारेमा प्रकाश पारे । शिव र सरस्वतीमा दाजुबहिनीको सम्बन्ध रहेको उल्लेख गर्दै सम्पूर्ण विद्याका प्रदाता भगवान् विद्येश्वर भएको बताए ।

कार्यक्रमका वक्ताहरूले डा. स्वामी रामानन्द गिरीको जीवन विद्याकै क्षेत्रमा समर्पित भएकाले उनलाई विद्येश्वर भगवान्को स्थापना गर्न प्रेरणा मिलेको कुरा उल्लेख गरेका थिए । गुरुकुलका छात्र, गुरुकुलका सञ्चालक, व्यवस्थापक, दाता, शुभचिन्तकलगायत विभिन्न व्यक्तित्वहरूको भव्य उपस्थिति रहेको लोकार्पण कार्यक्रममा सरस्वतीपूजन एवम् उपासनाका विभिन्न गतिविधि समेत सम्पन्न गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्