Logo

किन बोलाए सभापति देउवाले वरिष्ठ नेता पौडेलले भेला बोलाएकै दिन केन्द्रीय समिति बैठक ?



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरु र विघटित प्रतिनिधिसभाका सदस्यहरुको संयुक्त भेला बोलाएकै दिन सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
चौधौं महाधिवेशनका लागि तोकिएको मिति फागुन ७–९ मा महाधिवेशन नहुने निश्चित भइसक्दा पनि सभापतिले केन्द्रीय समितिको बैठक नबोलाएको भन्दै फागुन ५ अर्थात पर्सी बुधबारका लागि पौडेलले भेला बोलाएका थिए । पौडेलले देशभरका जिल्ला सभापति विघटित प्रतिनिधिसभा सदस्यहरुको भेला गरी आफ्नो धारणा सार्वजनिक गर्ने योजना बनाएका थिए ।
तर, सोही दिन बस्ने गरी देउवाले केन्द्रीय समितिको बैठक बोलाएका हुन् । पूर्वनिर्धारित मितिमा कांग्रेसको महाधिवेशन नहुने निश्चित भइसके पनि महाधिवेशनको अर्को मिति भने अझै तय हुन सकेको छैन । तोकिएको मितिको दुई दिन अघि बैठक बसेर महाधिवेशनको मिति पर सार्ने सभापति शेरबहादुर देउवाको तयारी छ ।
केन्द्रीय कार्यालयका अनुसार बुधबार दिउसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी सभापति देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन् । उपत्यका बाहिर रहेका केन्द्रीय सदस्यहरुलाई पनि बैठकका लागि राजधानी आउन सूचना पठाइएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनका कारण अधिकांश नेताहरु राजधानी बाहिर छन् ।
सभापति देउवाले विज्ञप्ति निकालेर महाधिवेशनको मिति सार्ने प्रयास गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले आलोचना गरिरहेका बेला सभापति देउवाले बैठक बोलाएका हुन् । बैठकको मूल अजेण्डा महाधिवेशनको मिति नै, एक केन्द्रीय सदस्यले बताए ।
बिहान भेला गरेर दिउसो केन्द्रीय समितिको बैठकमा सहभागी हुने पौडेल पक्षको तयारी छ ।
केन्द्रीय समितिको बैठक बोलाइए पनि महाधिवेशन कहिले गर्ने भन्नेमा कांग्रेस भित्र विवाद छ । सभापति देउवा भदौमा महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने पौडेल बैशाख अगावै महाधिवेशन गर्न सकिन्छ भन्नेमा अडिग छन् ।

प्रतिक्रिया दिनुहोस्