Logo

किन तर्सिन्छन् ‘हेग’ सुन्नासाथ डा.बाबुराम भट्टराई ?



काठमाडौं । तत्कालिन विद्रोही नेकपा माओवादीका नेताहरुलाई तर्साउनु छ भने अन्तर्राष्ट्रिय अपराध अदालतको नाम लिए पुग्छ । विद्रोहको नेतृत्व गरेका तत्कालिन सुप्रिम कमाण्डर पुष्पकमल दाहाल प्रचण्डदेखि उनका सहयोगीहरु डा. बाबुराम भट्टराई समेतका नेताहरुलाई यही कुराले बेला बेलामा तर्साउने गर्दछ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पनि डा. भट्टराईले अन्तर्राष्ट्रिय अपराध अदालत ‘हेग’को नाम लिँदै आक्रोश व्यक्त गरे ।
बाह्र वर्षे सशस्त्र द्वन्द्वमा युद्दको नाममा थुप्रै अमानवीय घटना भए । युद्दमा अपनाइने सामान्य सावधानी पनि अपनाइएन । सोही कारण थुप्रै निर्दोष र निहत्था नागरिकले अकालमै बर्बरतापूर्वक ज्यान गुमाउनु पर्यो ।
डा. भट्टराई तत्कालिन माओवादीका प्रचण्डपछिका नेता थिए । त्यतिबेला पार्टीमा दोश्रो वरियतामा रहेका भट्टराई २०७२ सालमा नयाँ संविधान जारी हुँदासम्म माओवादीमै रहे । उनको पद त्यतिबेला उपाध्यक्ष थियो, अध्यक्ष प्रचण्ड नै थिए ।
मानवअधिकारसँग सम्बन्धित विभिन्न संगठनहरुले तत्कालिन माअ‍ोवादीले युद्दकालमा युद्दको आधारभूत नियम पनि नमानेको निष्कर्ष निकालेका छन् । उनीहरुले मौका पाउनासाथ हेगमा उजुरी दिने र अन्तर्राष्ट्रिय रुपमा नै तत्कालिन माओवादीका नेताहरुलाई पालैपालो कारबाहीको भागिदार बनाउने चेतावनी दिइरहेका छन् ।
पार्टी एकीकरणअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि माओवादीका नेताहरुलाई हेगकै कुरा उठाएर तर्साउने गरेका थिए ।
पछिल्लो पटक शनिबार डा. भट्टराई आफैंले हेगको प्रसंग उठाए अनि भने, हामीलाई हेगले केही गर्न सक्दैन ।
तर, डा. भट्टराईले भने झै हेगले केही पनि गर्न नसक्ने भने होइन । अहिलेसम्म हेगमा उजुरी नपरेर मात्रै हो ।
संयुक्त राष्ट्रसंघलेसमेत गम्भीर रुपमा नियालेको नेपालको सशस्त्र द्वन्द्व र शान्ति प्रक्रियाका बारेमा थुप्रै प्रश्नहरु छन् ।
शान्ति सेनामै कार्यरत नेपाली सेनाका तत्कालिन कर्णेल कुमार लामालाई बेलायतमा पक्राउ गरी थुनामा राखिएपछि माअ‍ोवादी नेताहरु थप तर्सिएका हुन् ।
युद्दका नाममा मानिसका आधारभूत अधिकारसमेत हनन गर्ने क्रममा तत्कालिन माओवादी र नेपाली सेनाका अधिकारीहरु जिम्मेवार मानिएका छन् । सैनिक अधिकारीहरुको व्यवहारका बारेमा राज्यले जिम्मेवारी लिए पनि राजनीतिक नेताहरुको जिम्मेवारी भने राजनीतिक रुपमा सरकारले लिन नसक्ने देखिएको छ ।
तत्कालिन समयमा युद्दका नाममा भएका अपराधिक गतिविधिहरुको बिबरण धेरै एनजिओहरुले संकलन गरेर राखेका छन् । तत्कालिन माअ‍ोवादीका नेताहरुमा अझै पनि युद्दकै धङधङी रहिरहे हेगमा उजुरी हाल्ने र उतैबाट कारबाही गराउने उनीहरुको तयारीसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्