Logo

पूर्वसेनापति कटवालले यसरी गरे आर्मी उक्साउन भइरहेको प्रयासको पर्दाफास



काठमाडौं । पूर्व प्रधानसेनापति रुक्मांगद कटवालले तरल राजनीतिक अवस्थाको उपयोग गर्दै नेपाली सेनालाई उक्साउने प्रयास भइरहेको खुलासा गरेका छन् । विभिन्न संस्थाको नाममा नेपाली सेनाका पूर्व र बहालवाला अधिकारीहरुलाई भेटेर शासन सत्तामा हस्तक्षेप गर्नु पर्यो भन्नेहरु सल्बलाएको उनले बताए ।
पूर्व सेनापति कटवालले विकास टाइम्ससँग कुरा गर्दै सेनालाई राजनीतिमा सक्रिय गराउने र शासन सत्तामा नै हस्तक्षेप गर्न लगाउने उद्देश्यले केही व्यक्तिहरु लागि परेको जानकारी दिए ।
खासगरी ५ पुस यता केही व्यक्तिहरुले ‘अब आर्मीले मात्रै मुलुक थेग्न सक्छ’ भन्दै प्रचारबाजी गरिरहेको उनले बताए । ‘केही व्यक्तिले मलाई पनि भने, उनले जानकारी दिए, केही सडकमा जुलुस निकाल्दै छन्, कोही भद्रकालीमा अनसन बसेका छन् ।’
तर, कसैले उचाल्दैमा नेपाली सेना नउचालिने उनले स्पष्ट पारे । नेपाली सेना लोकतन्त्रप्रति प्रतिबद्ध छ, उनले भने, संसारभरको अध्ययन गरेको नेपाली सेनाले लोकतन्त्रमाथि हस्तक्षेप गर्छ भन्ने विश्वास मलाई लाग्दैन ।
अवकासपछि समाज सेवाको नाममा देशभरको भ्रमण गरिसकेका कटवालले नेपालको पछिल्लो राजनीतिक अवस्थालाई आफूँले पनि नियालिरहेको जानकारी दिए ।
‘अहिले त नाटक र नौटंकी मात्रै होइन, रत्यौली चलिरहेको छ’ उनले भने, शक्ति प्रदर्शनको नाममा मान्छेलाई सडकमा देखाउने काम भइरहेको छ ।
कसका विरुद्ध कसले शक्ति प्रदर्शन गरिरहेको छ भन्ने नै स्पष्ट नभएको उनले प्रतिक्रिया दिए । नेपालका राजनीतिक दलहरुको कमजोरीका कारण विदेशी शक्तिले चलखेल गर्ने मौका पाएको उनले सुनाए ।
परिस्थितिले संविधानमा नै कमजोरी छ भन्ने देखियो, उनले भने, संविधानलाई नेपाल सुहाउँदो बनाउन सकिएन कि भन्ने स्पष्ट भएको छ ।
अहिलेको राजनीतिक नेतृत्वले मुलुकलाई निकास दिन नसक्ने उनले ठोकुवा गरे । नयाँ भिजनसहितको नयाँ पुस्ता नेतृत्वमा आउनुपर्छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्