Logo

सार्वजनिक भो पौडेलको फागुन ७ गतेदेखि १३ सम्मको मधेश जागरण अभियान (तालिका)



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल फागुनको दोश्रो साता पूर्वी तराईका विभिन्न जिल्लाको भ्रमणमा जाने भएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरी हालै राजधानी फर्किएका पौडेलले फागुन ७ गतेदेखि १३ गतेसम्म पूर्वी र मध्य तराईका जिल्लाको भ्रमणमा जान लागेका हुन् । पौडेलका स्वकीय सचिव चिरन्जीवी अधिकारीका अनुसार, फागुन ७ गते पौडेल सुनसरीको धरान पुग्ने छन् ।

सोही दिन उनले धरानमा आयोजित सभालाई सम्बोधन गर्ने छन् । फागुन ८ गते सुनसरीकै सदरमुकाम इनरुवामा आयोजित सभालाई सम्बोधन गरेपछि उनी फागुन ९ गते सप्तरीको राजविराज पुग्ने छन् । फागुन १० गते सप्तरीमा आयोजित आमसभालाई सम्बोधन गरेपछि पौडेल सिरहा जाने छन् । सिरहामा पौडेलले फागुन ११ गते आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै फागुन १२ गते पौडेलले धनुषामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पौडेल प्रदेश १ र प्रदेश २ का विभिन्न जिल्लाहरुमा आयोजित आमसभालाई सम्बोधन गरी फागुन १३ गते काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

पार्टी उपसभापति विमलेन्द्र निधिले प्रदेश २ का विभिन्न जिल्लाहरुको भ्रमण गरेको केही दिनभित्रै वरिष्ठ नेता पौडेलले सोही क्षेत्रका जिल्ला दौडाहा गर्नुलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरेपछि पौडेल विगतको तुलनामा बढी सक्रिय भएका छन् । संसद पुनर्स्थापना हुनुपर्ने पौडेलको माग छ ।

पौडेलकै दबाबमा नेपाली कांग्रेस संसद विघटनविरुद्ध सडक आन्दोलनमा उत्रिएको हो ।

प्रतिक्रिया दिनुहोस्