Logo

ओबामा दम्पत्तीले बनाउँदै छन तेन्जिङ नोर्गे शेर्पाबारे चलचित्र



काठमाडौ । प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पामा आधारित फिल्म बन्ने भएको छ । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा दम्पतीले शेर्पाको जीवनीमा ‘तेन्जिङु’ फिल्म बनाउने भएका हुन् । ओबामा दम्पतीको प्रोडक्सन हाउस ‘हाइयर ग्राउन्ड प्रोडक्‍सन्स’ ले नेटफिल्कसँगको सहकार्यमा नयाँ प्रोजेक्टहरु घोषणा गरेका छन् । सोही प्रोजेक्ट अन्तर्गत शेर्पाको जीवनीमा फिल्म बन्ने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ‘हायर ग्राउन्ड प्रोडक्सन’ कम्पनीले नेटफ्लिक्ससँग ६ नयाँ योजना र सहकार्यबारे घोषणा गरेको हो ।

सो प्रोडक्सन कम्पनी लामो समयदेखि मनोरञ्जन क्षेत्रमा सक्रियरुपमा लागि रहेको छ । फिल्म ‘तेन्जिङ’लाई जेनिफर पिदोम र लुक डेभिसले निर्देशन गर्ने भएका छन् । फिल्म सन् २००३ मा एड डग्लस लिखित पुस्तक ‘तेन्जिङः हिरो अफ एभरेस्ट’ मा आधारित हुनेछ ।

त्यस्तै तेन्जिङले सर एडमन्ड हिलारीसँग पहिलोपटक सगरमाथा आरोहण गरेको कथा र हिलारीसँगको सहकार्यबाट इतिहास रच्नुसम्मको यात्रा फिल्ममा समेटिने बताइएको छ ।डेभिस र जेनिफरले फिल्मको सह निर्माण समेत गर्नेछन् । यस्तै, डेभिड मिछोड र नोर्बु तेन्जिङ नोर्गे फिल्मका कार्यकारी निर्माता हुनेछन् । संसारको सर्वोच्च शिखर सगरमाथाको आरोहण पहिलो पटक सन् १९५३ मे २९ का दिन न्युजिल्यान्डका पर्वतारोही एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले गरेका थिए । सोलुखुम्बुको थाने गाउँमा सन् १९१४ मे २९ मा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका थिए ।

उनले १९ वर्षकै उमेरदेखि आरोहण शुरु गरेका थिए । उनको ७१ वर्षको उमेरमा सन् १९८६ मे ९ मा भारतको दार्जिलिङमा मृत्यु भएको थियो ।तेन्जिङसँगै सगरमाथा आरोहण गरेका हिलारी सन् १९१९ जुलाई २० मा न्युजिल्यान्डको अक्ल्यान्डमा जन्मिएका हुन्। उनले धेरै समय नेपालमै बिताएका थिए । उनको सन् २००८ जनवरी ११ मा मृत्यु भएको थियो । त्यस्तै हायर ग्राउन्ड प्रोडक्सनले ‘तेन्जिङ’सँगै मोहसिन हामिदको लोकप्रिय उपन्यास ‘एक्जिट वेस्ट’ मा आधारित फिल्म बनाउने छ । यस्तै ओला सोकुन्बी लिखित पुस्तक ‘स्याटलाइट’ मा आधारित फिल्म, द यङ वाइफ, फायरकिपर्स डटर र ग्रेट नेशनल पार्क्स सिरिज समेत निर्माण गर्ने घोषणा गरेको छ । यी फिल्म र सिरिजहरु अबका केही वर्षभित्रै सार्वजनिक हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर मिति भने तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्