Logo

कमरेड प्रचण्ड ! तपाईंले खोजेको संवैधानिक राज यही हो ?



काठमाडौं । ओली राजको विरोधमा नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले अकस्मात आयोजना गरेको आम हड्ताल पहिलो ६ घण्टा पनि टिक्न सकेन । प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले एका बिहानै सडकमा आक्रोश पोखे पनि क्रमिक रुपमा आम हड्तालको अबज्ञा हुँदै गयो । शहर सामान्यतर्फ लम्किन थाल्यो ।
तर, त्यसअघि नेकपाका आक्रोशित कार्यकर्ताले सडकमा गर्नु नगर्नु सबै गरे । ठेलामा राखेर बेचिरहेको तरकारीलाई सडकमा पोखिदिए, उठाउन नमिल्ने गरी । सडकमा रोकि राखेको ट्याक्सी जलाइदिए, फेरि बनाउन नमिल्ने गरी ।
उनीहरुको अराजकता यत्तिमा रोकिएन । बिरामी बोकिरहेको एम्बुलेन्समाथि पनि प्रहार गरिदिए । तोडफोड गरिदिए, बिरामीलाई अस्पताल पुर्याउन नसक्ने गरी ।
युद्ध वा आन्दोलन, कतै पनि बर्जित नरहेको अत्यावश्यकीय सेवामा समेत नेकपाका कार्यकर्ताले धाबा बोले । ओलीले सत्ताको रस चुस्न नदिएको रिस उनीहरुले सर्वसाधारण आम जनतामाथि पोखे । के जनतालाई सास्ती दिएर ओलीले खुम्च्याइदिएको संवैधानिक राज फिर्ता हुने हो, कमरेड ? सर्वसाधारणले चोक चोकमा प्रश्न गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले सत्ताको दम्भमा हुँदा खाँदाका प्रतिनिधि सभा विघटन गरिदिएको अधिकांश नेपालीलाई मन परेको छैन । ओलीका सीमित नेता कार्यकर्ता बाहेक अधिकांश नेपाली आन्दोलित छन् । आन्दोलनको जोखाना हेरिरहेका छन् ।
तर, आन्दोलनको रुप यही हो त कमरेड प्रचण्ड ? आमहड्ताल जस्तो आन्दोलन त्यो पनि छोटो सूचनाका भरमा, यही पाराले ओलीले तपाईंलाई सत्ता सुम्पेलान् त कमरेड ?
कमरेड प्रचण्ड, तपाईमा अझै पनि युद्धको धङधङी छ । युद्ध लड्दै गरेका सिपाहीहरु एक आदेशको भरमा लंका जलाउन तयार हुन्छन् । तर, यो शान्तिपूर्ण आन्दोलन हो । शान्तिपूर्ण आन्दोलनमा तपाईं अभ्यस्त भइनसकेको यो एउटा दरिलो उदाहरण हो ।
यस्ता आन्दोलनले प्रतिगामी ओलीलाई थप बलियो बनाउँछ अनि लोकतन्त्र माग्ने तपाईंहरुलाई थप कमजोर ।
ओलीलाई बलियो बनाउने कि आफूँ बलियो बन्ने अब सोच्नुस् । आन्दोलनको स्वरुप बदल्नुस् । अन्यथा जनताले प्रतिकार गरे भने तपाईंहरु घर न घाटको हुनुहुने छ ।

प्रतिक्रिया दिनुहोस्