Logo

यौन व्यापारले मात्रै थाइल्याण्डमा पर्यटक तानिएका होइनन्

थाइल्याण्डका बौद्धमार्गीले लुम्बिनी चिन्छन्, नेपाल चिने झै गर्छन्




म केही वर्षदेखि थाइल्याण्डको राजधानी बैंककबाट करिब २ सय किमी दक्षिणमा पर्ने हुवा हिन भन्ने सहरमा रेष्टुरेन्ट व्यवसाय गरेर बस्दै आएको छु । थाइल्याण्डमा वर्षमा ३ करोडभन्दा बढी पर्यटक आउँथे, यसवर्ष कोरोना भाइरसका कारण शुन्य जस्तै भएको छ । नेपालमा २० लाख पर्यटक भित्र्याउन ‘नेपाल भ्रमण वर्ष’को आयोजना हुने गर्छ । तर, यहाँ पर्यटकको भिड लाग्थ्यो । त्यो सबै बन्द हुँदा यहाँको आर्थिक अवस्था निश्चिय पनि डामाडोल भएको छ ।


नेपालमा आउने पर्यटक, थाइल्याण्डमा आउने पर्यटक, उनीहरुले पाउने सेवा, सुविधा र व्यवहारका विषयमा मैले केही खास फरक अनुभूति गरेको छु ।

२५–३० वर्ष अघिसम्म तीन थाई भाटको एक रुपैयाँ हुन्थ्यो, अहिले ३ रुपैयाँको १ भाट जति हुन्छ । काठमाडौं र थाइल्याण्ड घुम्नकालागि हुने खर्च उस्तै उस्तै नै छ । होटल, खाना खर्च, यातायात, रेष्टुरेन्ट खर्च आदिमा औसतमा खर्च उस्तै आउला । तर विश्वका धेरै मानिसहरुको रोजाईमा नेपालभन्दा थाइल्याण्ड पर्ने गर्छ । यसका केही सरल र पेचिला कारणहरु छन् ।


थाइल्याण्डका प्रमुख सहरहरुका सडक, पेटी सबै सफा छन् । सफा सडकमा ‘स्ट्रीट फुड’ खुुब चल्छ । एउटा पर्यटक थाइल्याण्डको सडकमा उभिएर जे जे खरिद गरेर खान्छ, नेपालको सडकमा त्यही खानेकुरा खान सक्दैन । यसको एउटै सरल कारण हो – सडकको फोहोर (धुलो धुवा,दूूर्गन्ध आदि) ।

थाइल्याण्डका बारेमा मैले भन्ने कुराहरु धेरै नेपालीलाई थाहा पनि छ । किनभने थाइल्याण्डले नेपाली पर्यटकलाई पनि आकर्षित गर्दै आएको छ । नेपालबाट पर्यटक, विद्यार्थी र आफन्त भेट्न आउनेहरुको संख्या हप्तामा हजारदेखि १५ सय थाइल्याण्ड आइपुुग्छन् । अन्य मुलुकमा बस्ने नेपालीहरुसमेत थाइल्याण्ड आउने गर्छन् ।

नेपालमा पर्यटनको विकासको कुरा खुबै हुन्छ । पर्यटन प्रबद्र्धनकालागि करोड होइन, अर्ब खर्च हुन्छ । छलफल, गोष्ठी, भ्रमण, भिडियो –डकुमेन्ट्री, अन्तरक्रिया आदि शीर्षकमा करोडौं खर्च हुन्छ । तर काठमाडौं सफा गर्न ‘१ हजार युवालाई हातमा झाडु दिएर सफाइ अभियानमा सहभागी गराऔं न त’ भन्ने खालको कार्यक्रम कहिल्यै आउँदैन । आए पनि ती मौसमी वा औपचारिकता पूरा गर्ने प्रकृतिका हुन्छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा झारो टार्ने काममा ठूलो धनराशी खर्च भएको खबरहरु पढेको छु । तीन वटा आर्थिक वर्षमा भोजभतेर शीर्षकमा २० अर्ब खर्च भएको पनि सुनेको थिएँ ।

अर्थात नेपाल सरकारसँग पैशा नभएको त होइन । पैशा भइ भई पनि फोहोरलाई हामीले किन माया गरेको हो ? त्यो चाहिँ बुझ्न सकेको छैन ।

काठमाडौं स्वच्छ, सफा र धुलोधुवामुक्त बनाउन खासै गाह्रो छैन जस्तो लाग्छ । गाह्रो नै भए पनि यो नगरी नहुने काम हो । जबसम्म हामी फोहर हटाउन सक्दैनौं, तबसम्म नेपाल पर्यटनको गन्तव्य बन्न सक्छ भन्ने मलाई चाहिँ लाग्दैन ।

धेरै थाईलाई बुद्धको जन्म नेपालमा भएको थाहा छैन

विकीको तथ्यांकलाई मान्ने हो भने थाइल्याण्डमा ९४ दशमलव ५ प्रतिशत मानिसहरु बुद्धधर्म मान्छन् । यहाँको जनसंख्या साढे छ करोड छ । थाइल्याण्ड राजतन्त्रात्मक मुलुक हो । राजाप्रति मानिसहरुको औधि ठूलो सम्मान छ । थाइलाइण्डलाई आधुनिकतातर्फ डोहोर्याउने श्रेय अघिल्ला राजा भूमिबोललाई दिइन्छ । अहिले उनका छोरा महा बज्रलिंकन राजा छन् । भूमिबोल जति लोकप्रिय यी राजा छैनन् । नयाँ पिँढीले राजाविरोधी आन्दोलन गर्दा पुराना पिँढी रिसाउँछन् ।

कतिपय आमाबाबुले त ‘आफ्ना सन्तान राजसंस्थाको विरोधमा रहेकोले कानुनले तोके बमोजिम कारबाही गरे आफ्नो गुनासो नहुने’ भन्दै प्रहरीमा खबर गरेका घटना पनि छन् ।

यहाँको राजसंस्थाका अधिकांश नियमहरु बुद्ध–हिन्दु संस्कारमा आधारित छन् । टुप्पी पालेका ब्राम्हणहरु दरबारका अनिवार्य व्यक्तिमा पर्छन् । शाहीपरिवारका सदस्यहरुको अन्त्येष्टि भिक्षुहरुको उपस्थितिमा हिन्दुसंस्कार अनुसार हुन्छ ।

यो भूमिका बाँध्नुको कारण के हो भने यहाँका राजादेखि जनतासम्म बुद्धमार्गी छन् । तर यहाँका अधिकांश मानिसलाई भगवान बुद्धको जन्म नेपालमा भएको हो भन्ने थाहा छैन तर बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने चाहिँ थाहा छ ।

थाइहरु भारतको बनारसलाई ठूलो तीर्थस्थल ठान्छन् । बोधगयालाई ‘पुतगया’ भन्ने गर्छन् । थाइल्याण्डबाट भारत गएकाहरु एजेन्टमार्फत नेपाल–भारत सीमा पार गरेर लुम्बिनी पुग्छन् ।

सीमामा एजेन्टले पासपोर्ट बोकेर नेपालको भिषा लगाइदिन्छन् । जसका कारण कतिपयलाई नेपाल प्रवेश गरेको जस्तो भान पनि हुँदैन । कतिपयलाई त नेपाल भन्ने बेग्लै देश होइन कि भन्ने जस्तो पनि लाग्दो हो । यहि कारण भगवान बुद्धको जन्मभूमि नेपाल हो भन्ने कुरा लुम्बिनी घुमेर फर्केका कतिपय थाईहरुलाई थाहा पनि हुँदैन ।

यहाँका पाठ्यपुस्तकमा समेत ‘बुद्ध भारतमा जन्मिएका हुन्’ भन्ने उल्लेख थियो । मेरो सानो प्रयास र नेपाली दूतावासको पहलका कारण त्यो गलत जानकारी केही प्रकाशन गृहहरुले सच्याए । यो । तर थाई सरकारको तर्फबाट ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने जानकारी सबै पाठ्यपुस्तकमा राख्न निर्देशन दिएको मेरो जानकारीमा छैन ।

थाइल्याण्डका नेपाली
थाइल्याण्डमा २ हजार.जति नेपाली बसोबास गर्छन् । यहाँ बस्ने नेपालीहरु मूलतः टेलरिङ र रेष्टुरेन्ट व्यवसायमा छन् । केही नेपालीहरु यहाँका तारे होटलहरुमा काम पनि गर्छन् । व्यवसाय होस वा जागिर, गुणस्तर चाहिँ हुनुपर्छ । गुणस्तरीय सेवा दिनुपर्छ भन्ने विषयमा अहिले नेपालमा पनि व्यवसायीहरु निकै सचेत छन् । यो धेरै राम्रो पक्ष हो ।

थाइल्याण्डको अर्थतन्त्रको मुख्य आधार पर्यटन, कृषि र वस्तु उत्पादन र निर्यात नै हो । यसमा पनि देहव्यापार खुकुलो हुँदा थाइल्याण्डको पर्यटन फस्टाएको छ । थाइल्याण्ड आउने धेरै पुरुष पर्यटकहरुले त यहाँको सुरासुन्दरी सुखभोग गरेरै फर्किएको मैले पाएको छु । देहव्यापार थाइल्याण्डमा खुला छ । रोचक कुरा त के छ भने थाइल्याण्डको कानुनको कुरा गर्ने हो भने देहव्यापार बर्जित नै हो ।

थाइल्याण्डमा ९४ दशमलव ५ प्रतिशत बुद्ध धर्म मान्नेहरु छन् । चार प्रतिशत जति मुसलमानहरु छन् । थाइल्याण्डका अधिकांश बुद्धमार्गीहरु हिन्दुका देवीदेवताको पनि पूजा गर्छन् । नेपालमा पनि ९४ प्रतिशत ओमकार परिवारका मानिसहरु छन् भन्ने गरिन्छ । तर नेपालमा थाइल्याण्डमा झै देहव्यापार वा यौनका मामिला खुला छैनन् । त्यही धर्म मान्नेहरु बस्ने थाइल्याण्डमा चाहिँ देहव्यापार सामान्य कुरा हो । कुमारित्व भन्ने जिनिस यहाँ कुनै महत्वको छैन । हामी जीवीत कुमारीको पुजा गर्छैं, सायद त्यो कारण हामी कुमारीत्वलाई अनावश्यक महत्व दिन्छौं, यहाँ त्यस्तो छैन ।

र यौनबारेको दृष्टिकोण धर्मका आधारमा भन्दा पनि सामाजिक मान्यताका आधारमा बढी निर्देशित हुँदो रहेछ भन्ने लागेको छ ।

कामचोर प्रवृत्ति, भ्रष्ट सरकार, अस्थीर सरकार आदि नेपाल र थाइल्याण्डका साझा गुण हुन् । बैंकका चिल्ला सफा सडक, शानदार भवनहरु, चौबीसै घण्टा झलमल्ल सहर हेर्दा थाइल्याण्ड समृद्ध, सुसंस्कृत मुलुक हो कि जस्तो लाग्छ । तर थाइल्याण्ड यो स्तरसम्म पुगि सकेको छैन । मैले यसो किन भनेको हो भने सुशासनको मामिलामा थाई सरकारका असंख्य कमजोरी छन् ।

थाइ नागरिक मेहनती र व्यवसायिक छन्, त्यो भिडमा एउटा यस्तो हिस्सा पनि छ, जो निकै गैरजिम्मेवार जस्ता लाग्छन् । थाइल्याण्डका सरकारी निकायमा काम गर्नेहरु मेहनत गर्छन्, तर पैशा भेट्यो भने गोजीमा हाल्न पछि पर्दैनन् । पैशा झ्वाम पनि पार्ने, काम पनि नगर्ने नेपालको जस्तो शैली चाहिँ यहाँ छैन ।

पर्यटनको विकासको मामिलामा थाइल्याण्डमा मानिसहरु वा यहाँका संस्थाहरु व्यवसायिक छन् । हस्पिटालिटी निकै राम्रो छ । हस्पिटालिटीको मामिलामा काठमाडौंका होटल रेष्टुरेन्टले पनि विकास गरेका छन्, पोखराका व्यवासायी अझै परिष्कृत छन् । थाइल्याण्डमा ‘हेल्थ टुरिजम’को कार्यक्रम पनि अगाडि सारिरहेको छ । गुणस्तरीय उपचार सेवा र रमाइलोका लागि थाइल्याण्ड आउनेहरु पनि बढिरहेका छन् ।

थाइल्याण्ड र नेपाल भौगोलिक हिसाबले उति टाढा पनि छैनन् । भारतबाट म्यान्मार हुँदै थाइल्याण्ड आउन सकिन्छ । थाइल्याण्डले जति विकास उस्तै अवस्था भएको म्यान्मारले पनि गर्न सकेको छैन ।

नेपाल त छेउमा पुग्न पनि सकेको छैन । यसका कैयन कारणहरु छन् । पर्यटनको विकासका लागि राम्रो पूर्वाधार, राम्रो व्यवहार, सरसफाई र पर्यटकको सन्तुष्टि महत्वपूर्ण कुराहरु हुन् । थाइल्याण्डमा कम बजेटमा धेरै क्षेत्र घुमफिर गर्न सकिन्छ । नेपालमा त्यो सम्भव छैन । किनभने नेपालमा यातायात सेवा तल्लो स्तरको छ । सार्वजनिक बसहरुमा यात्रुसँग कर्मचारीहरुले गर्ने निम्नकोटीको व्यवहार भनिरहन परेन ।

यात्रुहरुसँग झुठ बोल्नु, रुखो व्यवहार गर्नु, सहचालकमा नाबालिग राख्नु, ट्राफिक नियमको पालना नगर्नु, क्षमताभन्दा बढी यात्रु राख्नु नेपालमा बहस गर्न आवश्यक नठानिने विषयहरु हुन् । तर पर्यटन विकासको सन्दर्भमा यी विषय क्यान्सर ‘सेल’ जत्तिकै हानिकारक हुन् ।

यातायातको गुणस्तर राम्रो भएका कारण कम बजेटमा थाइल्याण्डमा विभिन्न क्षेत्र पुग्न सकिन्छ । कतिपय स्थानमा त नेपालमा भन्दा सस्तो मूल्यमा खानेकुरा पनि खान पाइन्छ । समुद्रसँग जोडिएको मुलुक भएका कारण यहाँ ‘सि फुड’ सजिलै उपलब्ध छन् । नेपालमा यस्ता खाद्यवस्तु महँगा हुन्छन् । तर अहिले बनेको नयाँ नियमअनुसार जंगली जनावरहरु पाल्न पाइन्छ भन्ने सुनेको छु । व्यवसायिक रुपमा जंगली जनावरहरु पाल्ने र तिनको मासु पर्यटकलाई चखाउने हो भने केही नविनता थपिन्छ ।

नेपाली रक्सी, गाँजा, केही जनावरहरुको मासु आदिलाई बैद्यता प्रदान गरेर अगाडि बढ्ने हो भने नेपालमा सम्भावना जति पनि छ ।

जुन सुकै क्षेत्रमा विकास गर्न कडा मेहनत र अनवरत प्रयास चाहिन्छ । यस्तो प्रयास जनतालेमात्रै होइन सरकारमा रहेकाहरुले पनि गर्नु पर्छ । सत्ता र पैशाका आपसमा भिडिरहने हाम्रा देशका नेताहरुबाट चाहिँ यो सम्भव नहोला ।

प्रतिक्रिया दिनुहोस्