Logo

ओलीको गृहनगरमा १० बिगाहा सरकारी जग्गा हडप्ने नेकपाका प्रदेश कमिटी सदस्य गगन पुरी गिरफ्तार



नेकपाको एक नम्बर प्रदेश कमिटिका सदस्य तथा झापाका नेता रेवतराज पुरी गगन जग्गा कीर्ते तथा ठगी मुद्दामा पक्राउ परेका छन् । तिहार अघि देखि नै फरार रहेका उनलाई झापामा प्रहरीले व्यापक खोजी गरिरहेको थियो । उनी आज काठमाडौंबाट पक्राउ परेका हुन् । पक्राउ परे लगत्तै उनलाई सम्पत्ति शुद्धिकरण विभागले विशेष अदालत काठमाडौंमा पेस गरेको थियो ।

कीर्ते तथा ठगी मुद्दामा थप अनुसन्धान गर्न अदातले उनलाई १५ दिन थुनामा राख्ने आदेश दिएको छ । गगन पुरी प्रधानमन्त्री केपी ओलीको गृहनगर झापा दमकमा जग्गा घोटाला गरेर चर्चामा आएका थिए । दमकको वडा नम्बर ८ बालुवाटारको अत्यन्त महंगो मूल्यको करिब ३० बिगाहा जग्गा गगनले कीर्ते गरेर हात पारेका थिए ।

काठमाडौंको बालुवाटार जग्गा घोटाला काण्ड सरहको मूल्यको मानिएको दमक बालुवाटार जग्गा घोटाला काण्डको पोल खुले देखि नै विवादमा पर्दै आएको छ । सम्पत्ति शुद्धिकरण विभाग स्रोतका अनुसार गगनलाई अहिले करिब नौ बिगाहा जग्गा घोटालाको मात्र मुद्दा चलाउन पक्राउ गरिएको हो । जग्गा घोटाला बाहेक करिब ६ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति गगनले राखेको अभियोग लगाउन पनि शुद्धिकरणले गिरफ्तार गरेको हो ।

गगनले बालुवाटारको जग्गा घोटाला गरेपछि अन्य थप जग्गा सहित करिब ५० बिगाहामा फन पार्क बनाउने घोषणा गरेका थिए । अर्बाैं रुपैयाँको लगानीमा बन्ने भनिएको सो फन पार्कका साझेदार थिए माओवादीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका अजेयराज सुमार्गी । तर, फन पार्क बनाउने भनिएको जग्गा घोटाला गरिएको पाइएपछि प्रचण्ड रिसाएका थिए ।

स्रोत अनुसार गगनले बारम्बार प्रचण्डसँग भेटेर जग्गा घोटाला प्रकरणबाट जोगाइदिन आग्रह गरेका थिए । तर, पछि गएर प्रचण्डले आफ्नो निवासमा गगनलाई प्रवेश निषेध गरिदिएका थिए । तिहार लगत्तै गगन पुरी भूमिगत रुपमा काठमाडौं आएका थिए । उ

नले प्रचण्डलाई भेट्न प्रयास गरे पनि प्रचण्डले भेट्न नमानेको स्रोतले जानकारी दिएको छ । गगन पुरी दमक नगरपालिकामा माओवादीको तर्फबाट मेयरको उम्मेदवार बनेर पराजित भएका थिए । उनी नारायणकाजी श्रेष्ठको जनमोर्चाबाट माओवादीमा छिरेका थिए । जनयुद्धकालमा माओवादीले गगनलाई ठगीको आरोपमा अपहरण समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्