Logo

नेतृत्वबाट सीमा र मर्यादा नाघेर आरोप प्रत्यारोपमा उत्रदा नेकपाको एकता संकटमा : महासचिव पौडेल



नेकपाका महासचिव विष्णु पौडेलले नेकपामा नेतृत्वबाटै सीमा र मर्यादा नाघेर आरोप प्रत्यारोप हुँदा नेकपाको भविष्य संकटमा परेको बताएका छन् । प्रेस संगठन नेपालले बुटवलमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पौडेलले पार्टीलाई संकटबाट मुक्त गर्न सबै प्रकारका प्रयास पनि जारी रहेको पनि दाबी गरे ।

उनले पार्टी एकता भएदेखि नै अप्ठ्यारा र जटिल मोड देखिएपनि अहिलेको परिदृश्यले पृथक समस्या सिर्जना गरेको पनि बताए । महासचिव पौडेलले अहिले नेकपाको भविष्य साँच्चिकै कठिन मोडमा पुगेको जानकारी दिए । अर्थमन्त्री समेत रहेका महासचिव पौडेलले पार्टीभित्र मर्यादा बाहिरका अभिव्यक्तिलाई मर्यादाका दायराभित्र फर्काउने प्रयासमा आफूहरु लागि परेको बताए ।

पौडेलले अन्तरविरोधको पृष्ठभूमिमा कुनै सैद्धान्तिक र वैचारिक मतभेद नभएको तर कस्तो अन्तरविरोध भन्ने पहिल्याउन समस्या भएको बताए । कार्यदलले धेरै ठूलो मेहनत गरेर ल्याएको साझा प्रतिवेदन र भदौ २६ को निर्णयलाई आधार मानेर अघि बढ्नुको अर्को विकल्प नभएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्