Logo

पोर्चुगलमा सञ्चालित सापकोटाको रेस्टुरेन्टलाई ४ अवार्ड



काठमाडौं ।
पोर्चुगलको राजधानी लिस्बनमा नेपालीद्वारा सञ्चालित एक पिज्जा रेस्टुरेन्टले एकसाथ चार अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ ।
इटालियन खानाका नेपाली सेफ टंक सापकोटाले सञ्चालन गरेको रेस्टुरेन्ट ‘फोर्नो दि ओरो’ ले यूरोपका उत्कृष्ट २२ रेस्टुरेन्टमा छनौट भई चार अवार्ड प्राप्त गरेको हो । फोर्नो दि ओरोको नेपाली अर्थ ‘सुनको चुल्हो’ हो । सापकोटाको रेस्टुरेन्टमा दाउरा बालेर पिज्जा पकाउने चुल्होको बाहिरी आवरण सुनले छोपिएको छ ।
यूरोपमा प्रत्येक वर्ष हुने ‘उत्कृष्ट पिज्जा रेस्टुरेन्ट अवार्ड’ सापकोटाको रेस्टुरेन्ट यस वर्ष पनि पर्न सफल भएको हो ।
फोर्नो दिन ओरोले यस वर्ष ‘पोर्चुगलको उत्कृष्ट पिज्जेरिया’,‘युरोपका उत्कृष्ट २२ पिज्जेरिया’, “उत्कृष्ट बियर बिक्री गर्ने पिज्जेरिया’, र “इटाली बाहिरको उत्कृष्ट १० नेपोलिटान पिज्जेरिया’ अवार्ड पाएको छ ।
अवार्ड घोषणा भएपछि सापकोटाले आफ्नो मात्रै नभई कार्यरत सम्पूर्ण कर्मचारीहरुले यो संभव भएको बताए । यसमा सबै कर्मचारीहरुको उत्तिकै योगदान छ, उनले भने ।
नेपाल बाग्लुङका सापकोटा लामो समयदेखि पोर्चुगलमा व्यवसाय सञ्चालन गरी बसेका छन् ।
काम राम्रो गरेपछि पुरस्कार पाइदो रहेछ, उनले अनुभव सुनाए ।
पुरस्कारको घोषणापछि पोर्चुगलका राष्ट्रपति मार्सेलो दि सौसाले सापकोटालाई बधाइ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्