Logo

बर्दिबासमा प्रहरी र प्रदर्शनकारीबीच झडप, गोली लागी एक जना घाइते



काठमाडौं ।
बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै बर्दिबासमा भएको विरोध प्रदर्शनमा झडप भएको छ । प्रहरीको गोली लागी एक जना प्रदर्शनकारी घाइते भएका छन् ।
विरोध प्रदर्शनमा उत्रिएका स्थानीयले बालिकाको शव सडकमा राखेर राजमार्ग अवरुद्ध गरेपछि झडप भएको हो । प्रहरीको गोली लागी स्थानीय सञ्जय न्यौपाने घाइते भएका छन् ।
बर्दिवास–१४ का सहिद अन्सारीकी ६ वर्षीया छोरी गुलबसा खातुनको सोमबार राति बोरामा राखेर फालिएको शव फेला परेको थियो । उनी आइतबार साँझदेखि बेपत्ता थिइन् । उनको बलात्कारपछि हत्या भएको स्थानीयको दाबी छ ।
बालिकाको हत्या गरेको आशंकामा प्रहरीले गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ । साहले बालिकाको हत्या गरेको स्वीरेको प्रहरीले जनाएको छ । प्रदर्शनकै कारण पूर्वपश्चिम राजमार्ग र बीपी राजमार्गको उक्त खण्डमा बिहानैदेखि सवारी अवरुद्ध छ । टायर बालेर नाराबाजी गरिरहेका स्थानीयले पक्राउ परेका साहको घरमा आगजनीसमेत गरेका छन् ।
प्रदर्शन नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले २२ सेल अश्रुग्याससमेत प्रहार गरेको छ । अहिले सडकमा सशस्त्र, नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्