Logo

सुरेन्द्र पाण्डेमाथि अभद्र व्यावहार गर्नेलाई नेपाल र खनालद्धारा कारवाहीको माग



नेकपाका स्थायी समिति सदस्य एंव पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनमा भएको अभद्र व्यावहारको छानविन गरि दोषिमाथि कारवाही गर्न नेकपाका वरिष्ठ नेताद्धय माधव नेपाल र झलनाथ खनालले माग गरेका छन् । नेता पाण्डे सोमबार चितवनको राप्ती नगरपालिकाको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी भइरहेका बेला प्रधानमन्त्री ओली समर्थक कार्यकर्ताले उनीमाथि दुर्व्यवार गर्नुका साथै नाराबाजी र होहल्ला गरेका थिए। शनिबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले उक्त कार्य गर्ने र गराउने जो सुकै भएपनि छानविन गरी कडाभन्दा कडा कार्बाही गर्न माग गरेका हुन्।

वरिष्ठ नेता नेपालले उक्त कार्य सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने भएको भन्दै स्थानीय पार्टी एवं सम्बन्धित निकायलाई कारबाहीका लागि माग गरेका हुन्।

‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु’, नेता नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउॅने उक्त कार्य गर्नेर गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउॅछु।’

यस्तै नेकपा वरिष्ठ नेता झलनाथ खनालले पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनको राप्ती नगरमा भएको अभद्र व्यवहारलाई निन्दनीय भनेको छन् । चितवनको राप्ती नगरपालिकास्थित विरेन्द्रनगरमा अगुवा कार्यकर्ता भेला सम्बोधनका क्रममा वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्य पाण्डेलाई प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समर्थित कार्यकर्ताले पार्टी एकताबिरोधी भन्दै अभद्र व्यवहार गरेका थिए । कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न खनालले सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण गराए ।

‘पार्टीमा आन्तरिक विवाद उत्कर्शमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरुले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता , कार्यकर्तालाई विनम्र अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्