Logo

एकता जोगाउन शीर्ष नेतृत्वलाई दवाव दिन जुटे नेकपाका युवा नेता



काठमाडौं । नेकपाका युवा नेताहरू पार्टी विवाद तत्काल समाधान हुनुपर्ने पक्षमा हुनुहुन्छ ।पार्टी फुट्न दिनुहँदैन भनेर उहाँहरूले सार्वजनिक रूपमा सुझावसहितका अभिव्यक्ति दिइरहनु भएको छ । पार्टी एकता जोगाउन शीर्ष नेतृत्वलाई घचघचाइरहनुभएको छ ।

हे‍िजो संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पार्टीलाई एक ढिक्का राख्न आफू मन्त्री पद छाड्न तयार रहेको घोषणा गर्नुभयो । नेकपा पर्साका नेता कार्यकर्तासँगको भेटमा मन्त्री भट्टराईले सरकार पुनर्गठन गर्दा पार्टीभित्रको विवाद अन्त्य हुने अवस्था आए आफू राजीनामा दिन तयार रहेको सार्वजनिक घोषणा नै गर्नुभयो ।

भट्टराईले आफ्नो मन्त्री पद भन्दा पार्टीको एकता र संगठनलाई माथि देख्नुभयो । त्यसैले उहाँले भन्नुभयो, ‘तपाई हामी जे सुकै कुरा त्याग्न तयार हुनुपर्छ, आज पर्यटन मन्त्री छु, पार्टी एक हुनका लागि सरकार पुनर्गठन गर्नुपर्ने भो, मन्त्री पद छोडिदिनुस् भन्नुहुन्छ भने छाड्छु, राजिनामा दिउँला ।’

भट्टराई मात्र होइन सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ पनि पार्टी एकताका लागि मन्त्री पद त्याग्न तयार हुनुहुन्छ । मन्त्री गुरुङ स्थायी सरकार र पार्टी एकताका लागि धेरै नेता कार्यकर्ता आफ्नो जिम्मेवारी त्याग्न तयार रहेको बताउनुहुन्छ ।

सामाजिक सञ्जालमा नै मन्त्री गुरुङले लेख्नुभएको छ, ‘सत्ता र शक्तिको लागि हो भने स्थायी सरकारका लागि मूल नेतृत्व परिवर्तन बाहेक म लगायत धेरै नेता, कार्यकर्ताहरु आवश्यक परे मन्त्री वा आफ्नो पद त्याग गर्न पनि तयार छौं ।’

अहिले पार्टीका शीर्ष नेताले देखाएको व्यवहार उहाँलाई पटक्कै चित्त बुझेको छैन । ‘कोभिड–१९ का कारण राष्ट्रको सामू चौतर्फी संकट भएको बेला प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको अवस्थामा पार्टीभित्र प्रतिपक्षको भूमिकाबाट नेपालको समृद्धि, पार्टी एकताको नीति, सिद्धान्त, विचार र विधान विपरित पार्टी विभाजन गर्ने, क्रान्ति होइन्, प्रतिक्रान्ति निम्त्याउने प्रस्तावलाई स्थगित गरौं’ मन्त्री गुरुङले लेख्नुभएको छ ।

यी दुई मन्त्री एवं नेकपाका युवा नेता प्रतिनिधि पात्र मात्र हुन् । शीर्ष नेताको विवादप्रति नेकपाका दोस्रो पुस्ताका कुनै पनि नेता सन्तुष्ट छैनन् । उहाँहरु सबैको शीर्ष नेता मिली पार्टीलाई एक बनाएर लैजानु पर्छ भन्ने मत छ ।

पूर्वमन्त्री एवं नेकपा नेत महेश बस्नेत पार्टीमा अहिले झगडा वा विवाद गर्ने बेला नभएको बताउनुहुन्छ । नेकपा विभाजन भयो भने फेरि अहिलेको अवस्थामा पार्टीलाई ल्याउन अरु २०(३० वर्ष लाग्ने उहाँको भनाइ छ । ‘त्यति बेलासम्म अहिलेका शीर्ष नेताको आयु रहन्छ कि रहँदैन, सोच्नुपर्छ’, बस्नेत भन्नुहुन्छ ।

पार्टीमा देखिएको विवाद समाधानका लागि नेकपा भित्रका दोस्रो पुस्ता र युवा नेतहरु दिलो ज्यान दिएर लागेका छन् । विष्णु पौडेल, शंकर पोखरेल लगायत नेता रातदिन नभनि समस्या समाधानको लागि प्रत्यक्ष रुपमा खट्नु भएको छ । अन्य नेता पनि आ(आफ्नो ठाउँबाट लाग्नु भएको छ ।

नेकपाभित्र दोस्रो पुस्ताका नेता वा कुनै पनि कार्यकर्ता पार्टी फुट्नुपर्छ भन्ने पक्षमा छैनन् । प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओली एकता जोगाउन लागिरहनुभएको छ । पूर्व एमालेका धेरै नेता पार्टी फुट्न नहुने पक्षमा छन् तर पूर्व माओवादीका प्रचण्डसहितका नेता पार्टी फुटाउन लागिरहनुभएको छ ।

तल्लो तहका सबै नेता कार्यकर्ता कुनै पनि हालतमा पार्टी फुट्नु हुँदैन भन्ने पक्षमा छन् । नेतादेखि कार्यकर्तासम्मले शीर्ष नेतालाई खबरदारी गरिरहेका छन् । त्यसैले पनि नेकपा कुनै पनि हालतमा नफुट्ने दावी नेकपाका नेता तथा कार्यकर्ताको छ ।

प्रतिक्रिया दिनुहोस्