Logo

नेउवा महासंघः ६३ पदमा १ सय २७ उम्मेदवार




नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि हुने निर्वाचनमा १ सय २७ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार कूल ६३ पदका लागि १ सय २७ जनाले उम्मेदवारी दिएका छन् । समितिका अनुसार वरिष्ठ उपाध्यक्षसहित सदस्य सम्मका पदहरुमा निर्वाचन हुने छ । दुई सदस्य भने निर्विरोध भएका छन् ।
महासंघको नयाँ नेतृत्व चयनका लागि मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुने साधारणसभामा निर्वाचन हुने छ ।
हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा वैधानिक व्यवस्थाअनुसार स्वतः अध्यक्ष बन्ने छन् भने बाँकी पदहरुमा निर्वाचन हुनेछ ।
प्रदेश १ का तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
महासंघको आगामी वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिँदैछन् ।
महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी भिड्ने भएका छन् ।
जिल्ला नगर क्षेत्रबाट छानिने १८ केन्द्रीय सदस्यका लागि ३८ जनाले उम्मेदवारी दिएका छन् भने १४ सदस्य निर्वाचित हुने वस्तुगत संघबाट २९ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै १९ सदस्य निर्वाचित हुने एशोसिएटतर्फ ३३ जनाको उम्मेदवारी परेको छ ।
महासंघले निर्वाचनका लागि उमेन्द्र केशरी न्यौपानेलाई मुख्य निर्वाचन अधिकृत र लिलामणि पौडेल र रमणकुमार कर्ण निर्वाचन अधिकृत रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
निर्वाचनमा ढकाल र प्रधानले अधिकांश पदमा प्यानल नै बनाएर उम्मेदवारी दिएका छन् । निर्विरोध निर्वाचित हुने दुवै केन्द्रीय सदस्य भने ढकाल प्यानलका हुन् ।

प्रतिक्रिया दिनुहोस्