Logo

यही मौकामा छिनोफानो गरेरै छाड्ने दुवै पक्षको तयारी

ओली–दाहाल विवाद




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल यही मौकामा छिनोफानो गरेरै छाड्ने तयारीमा जुटेका छन् ।
पार्टीमा उत्पन्न विवादले औपचारिक रुपमै पार्टी कमिटीमा प्रवेश पाएपछि नेकपामा आन्तरिक शक्ति संघर्ष ह्वात्तै बढेको छ ।
गत शुक्रबार बसेको सचिवालय बैठकमा दुवै अध्यक्षबीच भएको पत्र सवाल जवाफसहितको प्रतिवेदन दाहालले पेश गरेपछि उनीहरुबीचको विवादले पार्टी कमिटीमा औपचारिक प्रवेश पाएको हो ।
बैठक मंसिर ३ सम्मका लागि स्थगित गरेका दुवै अध्यक्षले आगामी बैठकमा को सफल हुने भन्ने खेल सुरु गरेका छन् । ओली दाहाललाई उक्त प्रतिवेदन फिर्ता गराउने प्रयासमा छन् भने दाहाल उक्त प्रतिवेदनलाई अन्य कमिटीहरुमा पनि लैजाने रणनीतिमा छन् ।
सकेसम्म दाहाललाई नै प्रतिवेदन फिर्ता लिन बाध्य पार्ने र त्यसो हुन नसकेमा जुनसुकै हतकण्डा अपनाएर सचिवालयमा बहुमत पुर्याई प्रतिवेदन पारित हुन नदिने रणनीति ओलीको छ ।
ओलीको सक्रियता
शुक्रबारको बैठक लगत्तै प्रधानमन्त्री ओली र उनी पक्षीय नेताहरु दाहालको प्रतिवेदन असफल पार्ने योजनाका साथ अगाडि बढेका छन् । ओली आफैंले उपाध्यक्ष बामदेव गौतमसँग दुई पटक छलफल गरेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपालसँग एक पटक छलफल गरिसकेका छन् ।
आइतबार विहान गौतमसँग ओलीले लामो कुराकानी गरे । मन्त्रालय रोजेर सरकारमा सहभागी हुनेदेखि पार्टीमा उत्पन्न विवाद समाधानमा भुमिका निर्वाह गर्ने सम्मका विषयमा ओलीले गौतमलाई आग्रह गरे ।
तर, गौतमले न ओलीको आग्रह स्वीकार गरेनन् । उल्टै ओलीलाई सुध्रिन सुझाब दिए ।
वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पनि दाहालद्वारा प्रस्तुत प्रतिवेदन सचिवालयका पाँच सदस्यको साझा प्रस्ताव भन्दै कुनै हालतमा फिर्ता नहुने बताएका छन् ।
यही प्रतिवेदनलाई सचिवालय र स्थायी समिति हुँदै केन्द्रीय कमिटीसम्म पुर्याउने र पारित गराउने दाहाल खेमाको योजना छ ।
दाहाल खेमा योजनाबद्ध रुपमा अगाडि बढेपछि ओली खेमा पनि आक्रामक योजनासहित अगाडि बढेको छ । ओली पक्षीय नेताहरु आन्तरिक समीकरणको जोडघटाउमा सक्रियतापूर्वक लागेका छन् भने दाहाल खेमाप्रति आक्रामक देखिएका छन् ।
ओली पक्षीय स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाहालको प्रस्तावले पार्टी एकता नै संकटमा परेको दाबी गरेका छन् । उनले प्रतिवेदन फिर्ता लिई एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन सुझाब दिएका छन् । उनले भनेका छन्, व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य बुझ्न आवश्यक छ ।
त्यस्तै, पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले त दाहालको प्रतिवेदनले पार्टी एकताको सम्पूर्ण आधार समाप्त पारेको आरोप लगाएका छन् । उनले भनेका छन्, अब पार्टीको एकता जीवन्त राख्ने राजनीतिक, सांगठनिक र मनोबैज्ञानिक आधार सम्पूर्ण रुपमै समाप्त पारेजस्तो देखियो । फिर्ता लिने वा गम्भीर तनावको यात्रा रोज्ने ? मर्जी आफ्नै त हो ।‘
ओलीले आफ्नो खेमाका नेताहरुलाई परिचालन गर्न थालेपछि दाहालले पनि आफू पक्षीय नेताहरुसँगको छलफललाई तीव्रता दिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालको पनि साथ पाएकाले दाहाल थप ढुक्क देखिन्छन् ।
अध्यक्ष दाहालले आफ्नो सचिवालयमार्फत संघीय संसदका आफूपक्षीय मंसिर २ गते भित्र काठमाडौं आइपुग्न सर्कुलर जारी गरेका छन् ।
पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठनको प्रसंगबाट झाँगिएको नेकपा विवाद एकताको औचित्यसम्म पुगेपछि दुवै पक्ष शक्ति प्रदर्शनको तयारीसम्म पुगेका छन् ।
सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा दाहाल समूह बहुमतमा छ । तर, संसदीय दलमा भने ओली खेमाको बाहुल्यता छ ।

प्रतिक्रिया दिनुहोस्