Logo

‘सहयोग रकम फरक व्यक्तिलाई परेको हो, महामन्त्रीसँग जोडिने विषय होइन’

महामन्त्री कोइरालाका स्वकीय सचिवको प्रष्टोक्ति




काठमाडौं । शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले दशैं खर्च फरक पात्रको हातमा दिन पुगेको बताएका छन् ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले ‘पत्रकारलाई १५ हजार रुपैयाँ दशैं खर्च बाँडे’ भन्ने आसयका समाचारहरु प्रकाशित भएपछि सो रकम बाँड्ने भनेर चित्रण गरिएका तिवारीले यस्तो स्पष्टोक्ति दिएका हुन् ।

मंगलबार उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राजकुमार नाम गरेका एक आफन्तले केही दिन अघि दसैं खर्च दिनका लागि मलाई अनुरोध गरेका थिए । त्यही सहयोग रकम लिएर म अनामनगर चोकमा पुगेको थिएँ । कोभिड संक्रमणका कारण उहाँलाई बाहिर बोलाउने क्रममा असावधानीवश गलत नम्बरमा कल गएको र फरक पात्रको हातमा पैशा पुग्न गएको हो ।’

स्वकीय सचिव तिवारीले जसलाई कल गरे र कल रिसिभ गर्ने व्यक्तिले जसलाई पठाए ती फरक पात्र रहेको स्पष्ट पारेका छन् । उनले थप प्रष्ट पार्दै लेखेका छन्, ‘हतारमा गरिएको त्यही सम्वादका क्रममा भूलवस फरक व्यक्तिलाई पैशा दिन पुगेँ ।’

सचिव तिवारीले भूलबस भएको यो सामान्य घटनालाई महामन्त्री शशांक कोइरालाले पत्रकारलाई दसैं खर्च बाँडेको झै प्रचार भएको उल्लेख गरेका छन् । उनले यो घटनामा आफ्नो भूल भएकोले महामन्त्री कोइरालालाई नजोडिदिन आग्रह गरेका छन् ।

तिवारीले विज्ञप्तिमा भनेका छन्, ‘ भूलवश त्यो सहयोग मैले ती सहयोगीको हातमा पठाएको हुँ । सहयोग लिने व्यक्तिको पहिचान गर्ने क्रममा म बाट कमजोरी तथा त्रुटी भएको भएको हो ।


यसबारेमा कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालालाई कुनै जानकारी छैन । यो उहाँको सरोकारको विषय पनि होइन। त्यसैले यो विषयलाई महामन्त्री कोइरालासँग जोडेर नहेरी दिनु हुन म अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्