Logo

कांग्रेसले बिर्सेका खडेबटैया आन्दोलनका क्रान्तिकारी सरोज कोइरालाको स्मृति दिवस



नेपाली काँग्रेसका नेता एवं २०१५ सालमा महोत्तरी जिल्लाबाट प्रथम प्रतिनिधि सभा सदस्यमा निर्वाचित सरोज प्रसाद कोईरालाको स्मृति दिवस । भारतको बिहारको मधुवनीमा भूमिगत भई कांग्रेसको संगठन निर्माण गरिरहेका कोइरालाको विक्रम सम्वत् २०३० कात्तिक २ गते दिपावलीका दिन गोली हानी हत्या गरियो ।

कांग्रेसले आफ्ना नेता सरोज कोइरालालाई यतिबेला इतिहासको पानामा मात्रै सीमित पार्ने काम गरेको छ । २००३ सालमा बनारसमा स्थापना भएको नेपाली छात्र संघका संस्थापक सदस्य हुँदै राजनीतिको मैदानमा ओर्लनुभएका सरोज कोइराला नाताले बीपी कोइरालाका भतिजा हुन । कांग्रेसले सञ्चालन गरेको सत्याग्रह आन्दोलनमा सक्रिय हुनुभएकै कारण २००४ सालमा पहिलोपटक पक्राउ भएका कोइराला सात महिनापछि छुटे । बीपीलाई भेटेकै कारण २००५ सालमा मटिहानीमा उनी दोस्रोपटक पक्राउ परे । राणाशासनविरुद्ध कांग्रेसले सशस्त्र क्रान्ति गर्ने जमर्को गरिरहेको समय २००७ साल कात्तिकमा उहाँ जलेश्वर कारागार तोडेर भाग्न सफल सरोज कोइराला सो सशस्त्र क्रान्तिमा जनकपुरको मोर्चामा खटिएका थिए । २००७ साल पुस ३ गते जनकपुर मुक्ति सेनाले कब्जामा लिएपछि रुद्रप्रसाद गिरी गभर्नर र महेन्द्रनारायण निधि सरकार प्रमुख बनेपछि सो सरकारको यातायात मन्त्रीको जिम्मेवारी सरोज कोइरालाले सम्हालेका थिए ।

२००९ सालमा तत्कालीन महोत्तरी (हालको महोत्तरी, सर्लाही र धनुषा ) जिल्लाको कांग्रेसको सभापति बनेका सरोज कोइरला कुनै जातविशेष र कुनै वर्गविशेषभन्दा पनि सारा जनताको साझा नेताको रूपमा स्थापित सरोज कोइराला २०१५ सालमा सम्पन्न प्रथम आमनिर्वाचनमा अत्यधिक मत ल्याएर संसद्मा विजयी बनेका थिए । पद र प्रतिष्ठालाई भन्दा जनताको सेवा र आफ्नो कर्मलाई पहिलो प्राथमिकता दिने नेता कोइरालाले २०१५ सालको आम निर्वाचनपछाडि गठन भएको सरकारको मन्त्री पद त्यागेर पार्टीको संगठन राजे । बीपीले मन्त्री बन्न आग्रह गर्दा उनले संगठन रोजेका कारण २०१६ सालमा कांग्रेस केन्द्रीय कार्य समिति पुर्नगठन गरि केन्द्रीय सदस्यका साथै अनुशासन विभागको सदस्य(सचिव सरोज कोइरालालाई बनाइएको थियो । तर दुर्भाग्यबस राजा महेन्द्रले जननिर्वाचित सरकार र संसद् विघटनपश्चात् उनी निर्वासनमा गए र निर्वासनबाटै पार्टीको संगठन निर्माण अभियान जुटे ।

तत्कालीन राजा महेन्द्रको कदमको विरुद्धमा सुवर्णशमशेर राणाले २०१८ सालमा पुनस् सशस्त्र क्रान्ति प्रारम्भ गरेपछि सरोज कोइराला पिथौरागढमा बसेर सुदूरपश्चिमको कमान्ड सञ्चालन गरेका थिए । भारत चीन युद्धका कारण उक्त सो क्रान्ति बीचमै स्थगित भएको थियो । कांग्रेसका तत्कालीन महामन्त्रीहरू परशुनारायण चौधरी, भद्रकाली मिश्रलगायत काशीनाथ गौतमको समूह क्रान्ति रोक्ने पक्षमा थिए भने सरोज कोइरालाले नेतृत्व गरेको समूह क्रान्ति कुनै पनि हालतमा रोक्नु हुँदैन र क्रान्ति झन् सशक्त पार्नुपर्छ भन्ने पक्षमा थिए । सरोज कोइरालाको समूहमा भरतशमशेर, भूविक्रम नेम्वाङ, भीमबहादुर तामाङ, सूर्यमान गुरुङल नेताहरु थिए । यही कारणले २०१९ सालमा प्रवासमा रहेको कांग्रेसमा पहिलोपटक पक्ष र विपक्षमा मत विभाजन भएको थियो । वीपी कोइरला सो समयमा जेलमा थिए । सशस्त्र संघर्ष सशक्त बनाउनुपर्छ भन्ने समूह सधैं पार्टीको मूलधारमै रह्यो भने संघर्ष रोक्नुपर्छ भन्ने समूहमा राजनीतिक विचलन आयो । क्रान्तिकारी नेता सरोज कोइरालाले पंचायतका बिरुद्धमा ससस्त्र क्रान्ति मात्रै बिकल्प भन्दै उनले आफ्नो जीवन आहुति दिए । २०३१ सालको ससस्त्र क्रान्ति समेत सरोज कोइरालाको विचारबाट वीपी प्रभावित भएर भएको सो समयमा कांग्रेसहरुको बुझाई थियो ।

२०२५ सालमा आममाफीपश्चात् सरोज कोइराला पनि स्वदेश फर्के र विद्यार्थी आन्दोलन र किसान आन्दोलन मा सक्रिय रहेकै कारण उनी फेरि पंचायतको तारो बने । पञ्चायतको प्रमुख दुस्मन ठहरिएर सो बेलामा सरोज कोइराला अढाई वर्ष मात्रै स्वदेश बस्न पाए । अढाई वर्षको समयमध्ये पनि दुई वर्ष उनी जेलमै बिताए । जम्मा ६ महिनामात्रै स्वदेशमा जेल बाहिर रहेका सरोज कोइरालाले २०२९ असोज १ गते धनुषाको जदोकोहा काण्डको खुलेर अत्यन्तै चर्को विरोध गरेका थिए । जदोकोहा काण्डलाई राष्ट्रिय मुद्दा बनाउन लागेको आरोपमा सरोज कोइरालामाथि पञ्चायतले कडा निगरानी राखेपछि उनी नेपाल बस्न सक्ने अवस्था भएन र उनी फेरि निर्वासनमा गए । त्यसपछि भारतको मधुवनीमा बस्न थालेका थिए । सो समयमा सरोज कोइरालाले मधुवनीबाट नै नेपालमा नेपाली कांग्रेसको संगठन बिस्तारमा ठुलो योगदान दिएका थिए ।

२०२९ सालमा प्रजातन्त्र पुनस्र्थापनाका लागि बीपीले पुन : सशस्त्र संघर्षको बाटो समातेपछि संघर्षका लागि बनाइने हरेक योजना गिरिजाप्रसाद कोइराला र सरोज कोइरालाले नै बनाउने गरेको बरिष्ठ पत्रकार हरिहर विरहीको आगो निभेको छैन भन्ने भरखरै वजारमा आएको पुस्तकमा उल्लेख छ । सशस्त्र क्रान्तिमा सरोज कोइरालाले बनाएका योजना प्राय : सबै सफल भएको देखिन्छ । उनको निर्देशन र डिजाइनमा २०२० माघमा दुर्गानन्द झा र अरविन्दकुमार ठाकुरले तत्कालीन राजा महेन्द्रमाथि जनकपुरमा बम प्रहार भयो । सशस्त्र क्रान्तिको निमित्त आवश्यक रकम संकलनका लागि गरिएको हवाईजहाज अपहरणको योजनाकारमध्ये सरोज कोइराला सरिक थिए ।

व्यक्तिगत लालचा, पारिवारिक सुख र आफन्तको भलाईका निम्ति उहाँले आफूलाई कहिल्यै समर्पित गरेका सरोज कोइरालाले आफ्नो सारा जीन्दगीको सम्पूर्ण ऊर्जाशील समय क्रान्तकिै निम्ति र जनताकै मुक्तिका निम्ति खर्चेका थिए । पञ्चायतले २०१७ सालपछि निर्वासनमा रहेका कांग्रेसका प्रभावशाली नेताहरू मार्न विभिन्न आपराधिक समूह खरिद गरी पठाउने काम गथ्र्यो । सोही आपराधिक समूहको सिकार सरोज कोइरालालाई पंचायतले बनायो । उनको हत्याको कारण पत्ता लगाउन पार्टीले छानबिन समिति बनायो । तत्कालीन जनकपुरका अञ्चलाधीश लीलराज विष्टले जनकपुर कारागारबाट केही कैदीलाई पठाएर कोइरालालाई मार्न लगाएको रहस्य पत्ता लाग्यो भने पार्टी भित्रका रमेश झा र नरबहादुर कार्कीको पनि संलग्नता रहेको पुष्टि भयो । पछि झा र कार्की दुवै पञ्चायतमा प्रवेश गरे ।

तराईमा रहेको खडेबटैया (३ भाग मा २ भाग जग्गा मालिकलाई दिने र १ भाग कमाउनेले खाने) प्रथा को निर्मूल गर्ने काम सरोज कोइरालाले नै गरेका थिए । सरोज कोइराला शिक्षा, विकास, स्वास्थ्य र समाजमा रहेका घरेलु हिंसाविरुद्ध सधैं आफ्नो आवाज बुलन्द पार्नुभयो र समाजलाई चेतनशील बनाउन हदैसम्मको मेहनत गरेका थिए । आफ्नो सारा जिन्दगीको सम्पूर्ण ऊर्जाशील समय क्रान्तिकै निम्ति र जनताकै मुक्तिका निम्ति खर्च गरेका कोइरालाको अदम्य साहस, क्रान्तिकारीपना र संगठन कुशलता गुणहरूबाट भयभीत हुनेहरूले उनको हत्या गरे ।

प्रतिक्रिया दिनुहोस्