Logo

यसवर्ष दशैंमा विशिष्टहरुले सर्वसाधरणलाई टिका लगाइदिने कार्यक्रम स्थगित



राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैंमा टीका लगाइदिने कार्यक्रम यस वर्ष स्थगित हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको चाडपर्व जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्डमा भीडभाड नगरी एउटै घरमा बसोबास गर्ने व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्नुपर्ने उल्लेख गरेका कारण यो वर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित भएको हो । तर राष्ट्रपति कार्यालयले भने यो विषयमा निर्णय हुन बाँकी रहेको बताएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले यो वर्षको दशैंको अवसरमा आयोजना हुने चियापान र टीका कार्यक्रम स्थगित गरेका छन् । उपराष्ट्रपति कार्यालयका सचिव खगराज बरालले दशैंमा भीडभाड हुने सबै कार्यक्रम स्थगित भएको जानकारी दिए । प्रधानमन्त्री केपी ओलीको समेत टीकाको कार्यक्रम स्थगित भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित गरेका छन् । स्रोतका अनुसार सर्वसाधारण मात्र नभई आफ्ना कर्मचारीलाई समेत टीकालगाइदिने कार्यक्रम बन्द भएको जनाइएको छ । दशैंको टीका मात्र होइन, शक्तिपीठ दर्शन र पूजापाठलगायत सबै कार्यक्रम स्थगित भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्