Logo

काल्सवर्ग, टुबोर्ग, गोर्खा र सानमिगल वियरमा लोकल रक्सीको गुणस्तर



बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले नेपालमा उत्पादन गरेका वियरको गुणस्तर लोकल रक्सीको जस्तै पाइएपछि सरकारले कारवाहीको तयारी गरेको छ । गोर्खा ब्रुअरीले नेपालमा उत्पादनगर्ने काल्सवर्ग, टुबोर्ग, गोर्खा र सानमिगल वियर उत्पादन तथा विक्री गर्दै आएको छ ।

यी चार वटै वियरमा माल्ट अर्थात प्रशोधित जौं नभई कनिकाको मात्रा धेरै प्रयोग गरेको अनुगमनका क्रममा पाइएको छ । कनिकाको मात्र धेरै प्रयोग गरेको पाइएपछि आन्तरिक राजश्व विभागले गोर्खा ब्रुअरीका चार वटै वियरलाई वियरको मान्यता नदिई लोकल रक्सी सरह मान्यता दिएको छ ।

अनुगमनका क्रममा वियरको लागि प्रशोधित जौमा हुनुपर्ने कनिकाको मात्रा ५० प्रतिशतभन्दा बढी भेटिएपछि प्राविधिक टोलीले लोकल रक्सी सरहको मान्यता दिएर अन्तशुल्क बढाएको आन्तरिक राजश्व विभागले जनाएको छ ।

गोर्खा ब्रुअरीले उत्पादन गर्ने चारै नामको वियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएको छ । वियरका लागि शुद्ध जौ नै हुनुपर्छ । वियरमा हुनुपर्ने गुणस्तर नभएपछि आन्तरिक राजश्व विभागले अन्तःशुल्कको मूल्य बढाइ दिएको छ । वियर बनाउन कनिकाको मात्रा प्रयोग गर्नु भनेको लोकल रक्सी बनाउने प्रविधि हो ।

यसले गुणस्तर पनि कम हुने, सस्तो पनि पर्ने र जनस्वास्थ्यमा पनि असर गर्ने विभागको धारणा छ । वियरमा सरकारले प्रतिलिटर १ सय ६५ रुपैयाँ अन्तःशुल्क तोकेको छ । तर, लोकल रक्सी सरहको मान्यता पाएपछि अब गोर्खा ब्रुअरीले उत्पादन गर्ने चारवटा वियरले प्रतिलिटर ४ सय ३० रुपैयाँ अन्तःशुल्क तिर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्