Logo

मोदीनिकट रिपब्लिक टेलिभिजनका तीन उच्च अधिकारी टिआरपी प्रकरणमा तानिए




काठमाडौं । भारतको बम्बई प्रहरीले भारतीय संस्थापननिकट रिपब्लिक टेलिभिजनका मुख्य वित्तीय अधिकारी शिवा सुन्दरम, मेडिसन वर्ल्डका संस्थापक सेम बलसारा र प्रमुख कार्यकारी अधिकृत शशी सिन्हालाई बयानकालागि बोलाएको छ ।

टेलिभिजनको टिआरपीमा गरिएको प्राविधिक धाँधलीका सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले ती तीनजनालाई बोलाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

मुम्बई प्रहरीका सहायक आयुक्त मिलिन्द भारम्बेका अनुसार उनीहरुलाई शनिबार बिहान ११ बजे सो मामिलामा बयानकालागि बोलाइएको हो ।

बिहीबार मुम्बई प्रहरीका आयुक्त परमबीर सिंहले टिआरपीमा भएको प्राविधिक धाँधलीको अनुसन्धानका लागि रिपब्लिक टेलिभिजन अनुसन्धानको दायरामा पर्ने उल्लेख गरेका थिए ।

प्रहरीले यो मामिलामा चार व्यक्तिलाई यसअघि नै पक्राउ गरिसकेको छ । टिआरपी मोनिटर गर्ने प्रविधिमा गलत सेटिङ गरेर नम्बर एक न्युज च्यानल आजतकलाई तीन नम्बरमा राख्ने र टिआरपीमा पछाडि रहेको रिपब्लिकलाई अगाडि ल्याउने काम भएको शंका गरिएको छ ।

रिपब्लिक टेलिभिजनका विवादित पत्रकार अर्नव गोस्वामीलाई नरेन्द्र मोदी सरकारनिकट मान्ने गरिन्छ । मोदी सरकारकै संरक्षणमा पत्रकार गोस्वामीले मिडियाको दुरुपयोग गरिरहेको कतिपयले आरोप लगाउँदै आएका छन् ।

उनले विशेषगरी हिन्दु कट्टरतालाई प्रोत्साहन गरिरहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्