Logo

सभापति बनाउने सारथीदेखि सर्मथकले छोडे देउवाको साथ



शेरबहादुर देउवा नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भए । १३ औं महाधिवेशनमा देउवालाई सभापति बनाउने मुख्य सारथीदेखि प्रस्ताव सर्मथक नै अहिले देउवाको साथमा छैनन् । उपसभपाति बिमलेन्द्र निधी र महामन्त्रीका उमेदवार अर्जुननरसिंह केसी थिए । केसी र निधीसंग देउवाको साथमा प्रभावशाली नेता खुमबहादुर खड्का, पुराना नेता कुलबहादुर गुरुङ पनि देउवाको साथमा थिए ।

खड्का र गुरुङ देउवाको प्रस्तावक र सर्मथक नै थिए । तर अहिले देउवालाई सभापति बनाउने सारथी विमलेन्द्र निधी आफै १४ औं महाधिवेशनमा सभापतिको उमेदवार बन्ने तयारीमा लागेका छन् । निधीले देउवालाई भेटेर १४ औं महाधिवेशनमा आफुलाई सभापतिमा सहयोग गर्न भनिसकेका छन् ।

देउवालाई साथ दिदै उनको महामन्त्रीको उमेदवार बनेका केसीले देउवा समुह परित्याग गरिसकेका छन् । केसीले देउवाको साथ छोडेका मात्र छैनन् उनी देउवा विरोधी समुहका नेताहरुलाई मिलाउने प्रयासमा जुटेका छन् । केसी अहिले देउवाको खरो आलोचकमा पर्ने गर्दछन् ।

त्यसैगरि देउवाको प्रस्तावक बनेका नेता खुमबहादुर खड्काको निधन भएको छ । तर खड्कासंग जोडिएका नेताहरु भने अधिकांश देउवासंगै छन् । त्यस्तै सर्मथक बनेको पुराना नेता कुलुबहादुर गुरुङले पनि देउवाको साथ छोडेका छन् । गुरुङसंगै गोविन्दराज जोशी, लक्ष्मण घिमिरे, विनयध्वज चन्द, सुनि भण्डारी, लोकेश ढकालले पनि देउवाको साथ छोडेका छन् । गुरुङ, जोशी, घिमिरे, चन्द भण्डारी र ढकालको आफ्नै समुह छ ।

त्यसैगरि केन्द्रीय सदस्य चन्द्र भण्डारीले पनि देउवाको साथ छोडेका छन् । उनी १३ औं महाधिवेशनमा देउवाको समुहबाट केन्द्रीय सदस्य रहेका थिए । भण्डारी अहिले शेरबहादुरको साथ छोडेर देउवा इतर समुहलाई मिलाएर पार्टीको नेतृत्व देउवाको हातबाट खोस्ने अभियानमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्