Logo

‘कम्युनिष्ट सरकारको बदमासीले सीमा नाघ्यो, आन्दोलनमा जानुपर्ने हुन सक्छ’




काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले वर्तमान सरकारविरुद्ध जुनसुकै बेला पनि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन लागेको बताएका छन् ।

सरकारले अप्रजातान्त्रिक कार्यहरु गरिरहेका कारण आन्दोलनमा जानुपर्ने हुन सक्छ भन्दै सभापति देउवाल लोकतान्त्रिक मान्यता राख्ने व्यक्तिहरुमाथि धरपकड भएको दावी गरे ।

नेपाल महिला संघ केन्द्रीय समितिले सोमबार गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले भने, ‘यो कम्युनिष्ट सरकारले अति बदमासी गरेको छ।

हाम्रा साथीभाइलाई धरपकड गरेको छ।’ ओली नेतृत्वको सरकारले कर्मचारीलाई पनि धम्क्याउने, तर्साउने काम गरिरहेको आरोप देउवाको छ ।

‘सरकारले जथाभावी गरेको छ। कर्मचारीलाई धम्क्याएर तर्साएर राखेको छ। हाम्रो पालामा त यस्तो गरेको थिएन,’ उनले भने ।

उनले ओली सरकारलाई तह लगाउनुपर्ने पनि बताए। ‘ओली सरकारलाई तह लगाउनुपर्छ, यो सरकारलाई घेर्नुपर्छ,’ देउवाले भने ।

कोरोना महामारी रहेकोले अहिले नै सरकारविरूद्ध आन्दोलन गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ।

‘मैले पहिल्यै कम्युनिष्टले जिते देशलाई खतरा हुन्छ भनेकै हो,’ देउवाले भने, ‘कोरोना नआएको भए देशैभरि जुलुस गर्ने योजना थियो मेरो। कोरोनाका बेला आन्दोलन गर्न भएन।’

प्रतिक्रिया दिनुहोस्