Logo

काठमाडौंमा कोरोना देखिँदा हुम्लाका स्कुल बन्द गर्न निर्देशन दिने शिक्षामन्त्री




काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई विद्वान र गम्भीर नेताका रुपमा चिन्नेहरु पनि होलान् । शिक्षा मन्त्रालयका पटके यी मन्त्रीले गरेको कुनै एक गतिलो काम के हो ? भनेर खोज्ने हो भने भेटिन्न । शनिबार मात्रै पनि मन्त्री पोख्रेलले कोरोनाको जोखिम कायम रहेका कारण विद्यालय नखोल्न आग्रह गरेका छन् ।


शिक्षा पत्रकार समाजले आयोजना गरेको भर्चुअल छलफलमा उनले वैकल्पिक सिकाई पद्दति प्रयोग गर्न आग्रह गरेका हुन् ।

सरकारी निकायले नै भनिरहेको छ कि नेपालका केही जिल्लामा एक जना पनि कोरोना संक्रमित छैनन् । केही जिल्लामा नाम मात्रैका कोरोना संक्रमित छन् । त्यति मात्रै होइन अहिले त जिल्ला नामका मात्रै हुन् । संविधानअनुसार ७५३ स्थानीय सरकार छन् । ती मध्ये धेरैमा एक जना पनि कोरोना संक्रमित छैनन् । तर शिक्षामन्त्री कोरोना मुक्त क्षेत्रका विद्यार्थीलाई पनि पढाउन नदिने पक्षमा लागि रहेको जस्तो देखिन्छ ।

उनले पाठ्यक्रम नै संकुचन गरेर छ महिनामा सबै कोर्स सक्ने कार्य योजना सार्वजनिक गरेका छन् । बैकल्पिक सिकाई भनेर छेउ न टुप्पोको अनलाई कक्षामा पोखे्रलले जोड दिइरहेका छन् ।

अनलाईन कक्षामा बढीमा २८ प्रतिशत विद्यार्थीको पहुँच हुन्छ । २८ प्रतिशत विद्यार्थी निजी स्कुलमा पढ्ने आधारमा ती सबैसँग अनलाईन कक्षामा बस्ने प्रविधि छ भन्ने विश्वास गर्ने हो भने यस्तो अनुमान गर्न सकिन्छ । साँच्चै भन्ने हो भने नेपालमा अनलाईन कक्षाबाट चार पाँच प्रतिशतभन्दा बढीले पढ्न नपाउने जस्तो देखिन्छ ।

तर शिक्षामन्त्रीको बुद्धिको यो दशा देखेर धिक्कार नै मान्नु पर्ने अवस्था चाहिँ छ ।

शनिबार शिक्षा पत्रकार समाजले आयोजना गरेको भर्चुअल छलफलमा मन्त्री पोखरेलले न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरुलाई अनिवार्य पुग्न निर्देशन गरिएको बताए ।

उनले शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापितका लागि सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियत रुपमा क्लोज युनिट ग्रुप (सियुजी) मा आबद्ध गराई सञ्चार सहजता बढाइएको बताए । कतिपय जिल्लाका विद्यालयले अहिले सामाजिक दूरी कायम गरी प्रत्यक्ष सिकाइ पनि आरम्भ गरिसकेका छन् ।

सञ्चारविद् डा. निर्मलमणि अधिकारीले विपन्न र गरिब विद्यार्थीका लागि निःशुल्क रुपमा उच्चगतिका इन्टरनेट र डाटा उपलब्ध गराउन आग्रह गर्दै मिडिया साक्षरतालाई प्रभावकारी नबनाइए वैकल्पिक सिकाइ प्रणाली सफल नहुने बताए । उनले सूचना, सञ्चार तथा प्रविधि र आमसञ्चारको सदुपयोगका लागि रणनीति तर्जुमा गर्न सुझाव दिए ।

आसमान नेपालका कार्यकारी निर्देशक नोवलकिशोर यादवले प्रदेश–२ मा गरिएको पछिल्लो अध्ययनले ५१ प्रतिशत बालबालिका वैकल्पिक सिकाइको पहुँचमा पाइएकाले सञ्चारमाध्यमको भूमिका बढाएर पहुँच वृद्धि गर्नुपर्ने बताए ।

पहुँच वृद्धि हुँदै गए पनि सिकाइको स्तर २० प्रतिशतको हाराहारीमा रहेको अध्ययनले देखाएको छ । उनले आसमान नेपालले समुदाय तहमा युवाहरुलाई स्वयंसेवी परिचालन गरेर करिब १० हजार बालबालिकालाई स्वाध्यायन सामग्री वितरण गरिएको जानकारी दिए । समाचार टिप्पणी

प्रतिक्रिया दिनुहोस्