Logo

कांग्रेसको १४ औं महाधिवेशन : दुई दर्जन महिला नेतृ केन्द्रीय समितिमा इन्ट्रीको तयारी गर्दै



नेपाली कांग्रेसको १४ औं महाधिवेशनको चर्चासंगै धेरै नयाँ अनुहार केन्द्रीय समितिमा प्रवेशको तयारीमा जुटेका छन् । कांग्रेसको केन्द्रीय समितिमा इन्ट्रीका लागि झण्डै दुई दर्जन नेतृहरुको तयारी तिव्र देखिन्छ । अहिले कांग्रेसमा एक सहमहामन्त्री र ४० जना केन्द्रीय सदस्य आरक्षणको कोटाबाट महिला बन्ने व्यवस्था छ ।

कांग्रेसको नयाँ विधान अनुसार खुल्ला तर्फ महिला केन्द्रीय सदस्यमा ९ जना निर्वाचित हुने व्यवस्था छ । त्यसैगरि प्रदेशबाट एक एक जना गरि ७ जना महिलाहरु केन्द्रीय समितिमा निर्वाचित हुनेछन् । त्यसैगरि आरक्षण तर्फ दलित ४, जनजाती ७, खस आर्य ६, मधेशी ४, थारु ४ र मुस्लिम १ जना गरि ४० जना महिला नेतृहरु केन्द्रीय सदस्य हुनेछन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट झण्डै झण्डै दुई दर्जनबढि महिला नेतृले पहिलो पटक केन्द्रीय समितिमा प्रवेश पाउनेछन् ।

पार्टीको १४ औं महाधिवेशनमा खुल्ला, प्रदेश र खसआर्य कोटाबाट उमेदवार बन्नका लागि नेपाल विद्यार्थी संघकी पूर्वमहामन्त्री प्रतिमा गौतम, नेपाली कांग्रेस ओखलढुंगाकी पूर्व जिल्ला सभापति गोमा केसी, नेपाल ट्रेड युनियन कांग्रेसकी पूर्व उपाध्यक्ष रिता खनाल, महिला नेतृ मृदुला कोइराला, नेपाल विद्यार्थी संघकी पूर्व उपाध्यक्ष विजुला बर्मा, महिला नेतृहरु मन्जु खाँड, आरुजु राणा देउवा, विद्यार्थी नेतृ इन्दिरा तिवारी, संविधानसभा सदस्य रिता शाही, राष्ट्रियसभा सदस्य अनिता देवकोटा, विद्यार्थी नेतृ विनिता अधिकारी, तरुण दलकी नेतृ लक्ष्मी खतिवडा, तरुण दलकी नेतृ सरस्वती तिवारीले तयारी गरेका छन् ।

त्यसैगरि आदिवासी जनजातीको कोटाबाट पूर्व विद्यार्थी नेतृ कुसुम थापा, काठमाडौं महानगरपालिकाकी उपमेयर, हरिप्रभा खड्की, नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर, राष्ट्रियसभा सदस्य विन्दा राना उमेदवार बन्ने तयारीमा देखिन्छन् ।

त्यसैगरि दलित तर्फको आरक्षणमा विद्यार्थी नेतृ सिता मिजार र संविधानसभा सदस्य विमला नेपाली पहिलो पटक केन्द्रीय सदस्यका लागि उमेदवार बन्ने तयारीमा छन् भने मधेशी तर्फबाट राष्ट्रिय सभा सदस्य मुक्ता यादव र नेतृ रेखा यादव उमेदवार बन्ने तयारीमा देखिन्छन् ।

यतिबेलासम्म थारु कोटामा संसद नमिता चौधरीले र मुस्लिम कोटा संविधानसभा सदस्यद्धय कौशर साह तथा मोहम्दी सिद्धिकीले ले उमेदवार बन्ने तयारी गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्