Logo

हिमचितुवा आङरिता शेर्पाको निधन



पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । हिम चितुवाको उपनाम पाएका शेर्पाको सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा निधन भएको नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बताए । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए । १० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरेको विश्व रेकर्ड शेर्पाको नाममा छ । उनको अन्त्येष्टि धार्मिक परम्पराअनुसार हुने आङछिरिङ शेर्पाले जानकारी दिए । सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय आङरिताको पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ । बुधबार बौद्ध परम्पराअनुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ । उनले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका थिए ।

आङरिताको आरोहण यात्रा

सन् १९४८ मा जन्मिएका आङरिताको पुर्ख्यौली पेसा चौंरीपालन भए पनि १५ वर्षकै उमेरदेखि आरोहणमा लागेका थिए । पहिलो पटक २० वर्षको उमेरमा चोयु हिमालको आरोहण गरेका शेर्पाले बिनाअक्सिजन पहिलो पटक सन् १९८३ मा सगरमाथा चुचुरामा पाइला टेकेका थिए ।

आरोहणका क्रममै आङरिता बिरामी भएपछि आरोहण यात्रा रोकिएको थियो । सगरमाथा आरोहणमा नजानुको मुख्य कारण उनी बिरामी भएका बेला तत्कालीन राजा वीरेन्द्रले युवराज दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए । त्यसबेला राजा वीरेन्द्रले चाहना र आवश्यकता के छ भनेर सोधे पनि आफूले केही पनि चाहना व्यक्त नगरेको आङरिताले पत्रकारसँगको भेटमा भन्ने गरेका थिए । सन् १९९६ तिर दीपेन्द्रले ुदरबार आउनूु भनेको भए पनि दरबार नगएको बताउने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु जस्ता तक्माबाट भने सम्मानित भएका थिए ।

बिनाअक्सिजन दस पटक आरोहणको विश्वकीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि नगएको बताउने शेर्पालाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उनकी छोरी डोमाले बताइन् ।

यद्यपि उनको आर्थिक अवस्था दयनीय भएको जनाउँदै नेपाल पर्वतारोहण संघले नियमित सहयोग गर्दै आएको छ । छोरीका अनुसार पर्वतारोहण संघले मासिक १५ हजार रुपैयाँ दिँदै आएको छ । आङरिताका तीन छोरा र एक छोरी छन् । जेठ छोरा कर्साङ आरोहण पेसामै छन् । माहिला छोरा छेवाङ दोर्जे भने अमेरिकामा र कान्छा छोरा फुरानुरु खुम्बुमै चौंरीपालन गरेर बसेका छन् । छोरी डोमा जोरपाटीमा बस्दै आएकी छिन् । आङरिता उनै छोरीसँग बस्दै आएका थिए । सात वर्षअघि उनको पत्नीको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्