Logo

पूर्वप्रधानन्यायाधीश सिंहको एक सय वर्षको उमेरमा निधन



पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको एक सय वर्षको उमेरमा निधन भएको छ । निमोनियाका कारण उनको काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे निधन भएको हो ।

२०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि प्रधान न्यायाधीशका रुपमा अनिरुद्र प्रसाद सिंहले तीन वर्षसम्म न्यायालयको नेतृत्व गरेका थिए । न्यायालयमा रहँदा सिंहले अदालतका नजिरहरुको अभिलेखीकरणका २०१५ सालबाट नेपाल कानुन पत्रिकाको प्रकाशन आरम्भ गरेका थिए ।

२०१६ सालमा उनी लोकसेवा आयोगको अध्यक्ष पनि भएका थिए । त्यसपछि उनी कानुन, वनलगायतका मन्त्री पनि भए । २०१८ सालमा उनलाई राजा महेन्द्रले नारायणहिटी राजदरबारमा कार्यालय स्थापना गरी विशेष जाहेरी विभागको प्रमुख नियुक्त गरेका थिए । २०३२ सालमा उनलाई संविधान सुधार आयोगको अध्यक्ष पदमा मनोनयन गरिएको थियो ।

२०३४ सालमा तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्तमा उनी नियुक्त भएका थिए । अख्तियारमा २०३४ साल पुस १३ गतेदेखि २०४२ साल बैशाख ३० गतेसम्म कार्यरत उनी त्यसलगत्तै राजसभा स्थायी समितिको सभापतिसमेत बनेका थिए ।म्स/संवाददाता

प्रतिक्रिया दिनुहोस्