Logo

भारतका उच्च पदस्थ व्यक्तिहरुमाथि चीनको निगरानी !



काठमाडौं । भारतका उच्च पदस्थ व्यक्तिहरुमाथि चीनले निगरानी गरिरहेको भारतको एक मिडियाले दावी गरेको छ ।

भारत र चीनबीच सीमा विवादका कारण तनाव कायम रहेका बेला एक चिनियाँ कम्पनीले भारतका राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च राजनीतिज्ञदेखि सांसद, कलाकार, पत्रकार र स्थानीय राजनीतिक कार्यकताहरूको ‘निगरानी’ गरेको दाबी इन्डियन एक्सप्रेसले गरेको छ ।
इन्डियन एक्सप्रेसको खोज रिपोर्टमा चिनियाँ कम्युनिस्ट पार्टीसँग निकट रहेको झेन्हुवा डाटा इन्फरमेसन टेक्नोलोजी कम्पनी लिमिटेडले १० हजारभन्दा बढी भारतीय व्यक्ति तथा संगठनहरूको ट्र्याक गर्दै आएको दाबी गरिएको छ ।

पत्रिकाले यसअघि पनामा पेपर्स र विकिलिक्सजस्ता चर्चित प्रकरणलाई पनि सतहमा ल्याएको थियो ।

कम्पनीको मुख्य लक्ष्य सार्वजनिक र चर्चित व्यक्तिहरूसँग सम्बन्धित सामाजिक सञ्जाल र अनलाइन न्युजहरूमा उपलब्ध सूचना तथा जानकारीको अभिलेख राख्नु र त्यसका आधारमा उनीहरूका गतिविधिमाथि निगरानी गर्नु रहेको एक्सप्रेसले जनाएको छ । पत्रिकाले चीनको व्यापारिक सहर सेन्जेनमा मुख्यालय रहेको कम्पनीले उक्त प्रयोजनका लागि ओभरसिज की इन्फरमेसन डाटाबेस (ओकीबीडी) तयार पारेको दाबी गरेको छ । झेन्हुवा चीनमा ठूलो मात्रामा तथ्यांक प्रयोग गर्ने कम्पनीका रूपमा चिनिन्छ । कम्पनीमा ८६ प्रतिशत स्वामित्व आईबीएमका पूर्वइन्जिनियर वाङ्ग सुइफेन्गको रहेको समेत पत्रिकाले खुलाएको छ । उनी आर्टिफिसिअल इन्टेलिजेन्सका विज्ञसमेत हुन ।

पत्रिकाले गरेको खोजमा कम्पनीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदीदेखि भारतीय राष्ट्रिय कंग्रेस प्रमुख सोनिया गान्धीलगायत उच्च राजनीतिज्ञदेखि उनका परिवार एवं पत्रकार र खेलाडीहरूसँग सम्बन्धित सूचनाहरूमाथि ‘रियल टाइम’ निगरानी राखेको खुलेको हो । उक्त सूचीमा विभिन्न राज्यका मुख्यमन्त्रीहरूसमेत रहेका छन् ।

त्यसैगरी केन्द्रीय मन्त्रीहरू निर्मला सीतारमण, स्मृति इरानी, रविशंकर प्रसाद, पीयूष गोयलमाथि पनि जासुसी गरेको द इन्डियन एक्सप्रेसले दाबी गरेको छ । रिपोर्टमा जासुसीको सूचीमा भारतका चिफ अफ डिफेन्स स्टाफ विपिनसिंह रावतदेखि अन्य पूर्वसेनाप्रमुख रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्