Logo

कमाईमा पनि मेसी अघिअघि रोनाल्डो पछिपछि

मेसीको वार्षिक आय १२ करोड डलरमाथि



 

एजेन्सी । लिओनल मेसी सर्वाधिक कमाउने फुटबलरको शीर्ष स्थानमा रहन सफल भएका छन् ।

फोर्ब्सका अनुसार स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड मेसी सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका हुन् ।

फोर्ब्सले मेसीको वार्षीक आम्दानी १२६ मिलियन अमेरिकी डलर भएको जनाएको छ । जसमध्ये तलबबाट ९२ मिलियन अमेरिकी डलर मेसीले आम्दानी गरेका छन्। मेसीले प्रायोजनमार्फत ३४ मिलियन अमेरिकी डलर प्राप्त गरेको फोर्ब्सले जनाएको छ ।

फोर्ब्सका अनुसार मेसीको करिअरको कमाइ १ बिलियन अमेरिकी डलर पुगिसकेको छ । मेसीले १६ वर्षको करिअरमा दर्जनौ रेकर्ड बनाइसकेका छन्।

मेसीले बार्सिलोनाबाट खेल्नुअघि क्लबले १०५ वर्षमा ६४ उपाधि जितेको थियो। मेसीले बार्सिलोनाबाट खेल्न थालेको १६ वर्षमा क्लबले ३४ उपाधि जित्न सफल भयो ।

सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलरको दोस्रो स्थानमा इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो छन् ।

रोनाल्डोको कमाइ ११७ मिलियन अमेरिकी डलर रहेको छ। जसमा रोनाल्डोले तलबबाट ७० मिलियन अमेरिकी डलर कमाएका छन्। उनले बाँकी ४७ मिलियन अमेरिकी डलर प्रायोजनमार्फत प्राप्त गरेका छन् ।

रोनाल्डोको आफ्नै ब्रान्ड सिआर–७ मार्फत आम्दानी बढेको फोर्ब्सको भनाइ छ । पोर्चुगललाई युरो कप र नेशन्स लिग जिताउन नेतृत्वदायी भूमीका निर्वाह गरेका रोनाल्डोले गत साता सय अन्तर्राष्ट्रिय गोलको कोशेढुंगा पार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्