Logo

वीपीको एउटै भनाईले किसान हुन छोडेर डाक्टर भए



बीपी कोइरालासंग बालमनोविज्ञान अलग्गै किसिमबाट बुझ्ने र ट्रिट गर्ने तिलस्मी क्षमता थियो । ज्योती कोइराला दाई क्याम्ब्रिज स्कुलमा ७४ प्रतिशत ल्याउनुभएको थियो । उहाँले श्रीनगरबाट इन्जिनिरिङमा गोल्ड मेडल ल्याउनुभएको थियो । उहाँले नेपाल फर्किएपछि कामको खोजपड्ताल गर्नुभएछ । त्यतिबेला भनेजस्तो काम कहाँ पाइन्थ्यो र ? ९ सय रुपैयाँको नोकरी मिलेछ । तर त्यतिले दालभात खान पनि धौधौ भयो । उहाँले बनारस फर्किएपछि बीपी बाबुसँग आफुले यस्तो नोकरी नगर्ने आफ्नो बुवाको भागको खेत दिनुहोस् भन्नुभयो । २५ विघा जमिन उहाँको भागमा परेछ । उहाँ खेती किसानी गर्न लाग्नुभयो । एक वर्षमा त्यस जग्गाबाट उहाँले ७ लाख रुपैयाँ आम्दानी गर्नुभयो ।

ट्याक्टर किनेर, खनजोत गरेर प्रशस्त आम्दानी गरेपछि मेरो दिमागमा पनि कृषिकर्म पो गर्नुपर्दो रहेछ । एकै वर्षमा सातसात लाख आम्दानी हुने भन्ने पर्यो । मैले पनि बीपीलाई नेपाल गएर खेती गर्ने विचार राखे । बीपीको स्वभावै थियो, उहाँले कहिले पनि नाइँनास्ती गर्नुहुन्नथ्यो ।

उहाँले खेती नै गर्छस् त भनेर सोध्नुभयो । र भन्नुभयो ? धेरै राम्रो हो । मैले पैसा कमाउन पनि सकिनँ । राजनीतिमै जीवन स्वाहा भइहाल्यो । ज्योति दाइले पैसा कमाएको देखेर तँ लोभिएको होलास् । ठीकै पनि हो । कृषि गरिस् भने तैंले पनि पैसा कमाउँछस् । पैसा कमाएर धोती, चप्पल लगाएर, एउटा हातमा घिउको टिन र अर्को हातमा दाल चामलको बोरा बोकेर हामीलाई बनारसमा भेट्न आउँछस् । यति हो, त्यतिबेला तँसँग पैसा त हुन्छ तर, पढेलेखेको हुँदैनस् ।

मलाई बीपीले यसरी दृश्य झलझली देखाइदिनुभयो कि मेरो दिमाग नै चक्करायो । राति सुत्दा पनि त्यही पनि किसान बनेको र बनारसमा धोती चप्पल लगाएर घिउ र चामल बोकेर परिवार भेट्न पुगेको सपना देखेछु । उहाँले पढ्न भनेर जबरजस्ती गर्नुभएको थिएन । बरु, कृषिमै प्रोत्साहन गर्नुभएको थियो । तर, मैले त्यो दुःखको कल्पना गर्न सकिनँ । भोलिपल्टै गएर भर्ना गरेँ । त्यसपछि म डाक्टर बने । अनि त्यसपछि दोहो¥याएर उहाँले त्यस्तो दृश्य देखाउनु परेन ।

१२ खरिमा प्रकाशित लेखमा आधारित

प्रतिक्रिया दिनुहोस्