Logo

७ सय मिलियन युरो तिरिदिने नभेटिएपछि मेस्सी बार्सिलोनाकै प्रशिक्षणमा फर्किए



काठमाडौं । लियोनल मेस्सी बार्सिलोनाको प्रशिक्षणमा फर्किएका छन् । स्पेनिस जाइन्टबाट बाहिरिने असफल प्रयासपछि मेस्सी सोमबार प्रशिक्षणमा फर्किएका हुन् ।

क्लबका सर्वाधिक गोलकर्ता मेस्सीले क्लब छोड्न चाहेको भन्दै अगस्ट २५ मा बार्सिलोनालाई पत्र बुझाएका थिए।

उनलाई भित्र्याउन इंग्लिस क्लब म्यानचेस्टर सिटीले सक्दो प्रयास पनि गरेको थियो । तर उनको रिलिज क्लबमा राखिएको ७०० मिलियन युरोको भीमकाय रकमका कारण सफल हुन सकेन ।

मेस्सीले गोललाई दिएको अन्तर्वार्तामा बार्सिलोनाका अध्यक्षले धोका दिएको र आफूलाई अनुबन्धित गर्न तिर्नु पर्ने रकम तिर्ने हैसियत भएका क्लब नरहेकाले बार्सिलोनामै रहने निर्णय गरेको उल्लेख गरेका थिए । यस्तै छोराहरुका कारण पनि बार्सिलोनामै बस्ने निर्णय गरेको मेस्सीको भनाई छ ।

बार्सिलोनासँगको २० वर्षे सहकार्य अन्त्य गर्न चाहेका उनी प्रि–सिजन प्रशिक्षणमा सहभागी भएका थिएनन् । तर बाहिरिने प्रयास असफल भएपछि उनी पुनः प्रशिक्षणमा फर्किएका हुन् ।

नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यान आएपछि मेस्सी पहिलोपटक प्रशिक्षणमा सहभागी भएका हुन्।

बार्सिलोनाले यो सिजनको ला लिगाको सुरुवात सेप्टेम्बर २७ मा भिल्लारियलसँगको खेलबाट गर्ने छ।

सोमबारको प्रशिक्षणमा मेस्सी र फिलिप कोन्टिन्होले एक्लाएक्लै प्रशिक्षण गरे, अरुले भने समूहमा प्रशिक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्